अन्तर्राष्ट्रिय वित्त निगमको नेपाल प्रतिनिधिका रुपमा रथनिजा अरान्डारा नियुक्त


काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को नेपाल प्रतिनिधिका रुपमा रथनिजा अरान्डारा नियुक्त भएकी छिन् ।

उनको नेतृत्वमा आइएफसीले नेपालमा लगानी तथा परामर्श सेवाको क्षेत्र विस्तार गर्ने, विकास निर्माण कार्यका लागि निजी क्षेत्रसँगको सहकार्य बढाउने लक्ष्य लिएको छ ।

आईएफसीमा २०११ देखि कार्यरत अरान्डाराले हालसम्म दक्षिण एसियाको देशहरूमा वित्तीय पहुँच, कृषि तथा उद्योग सुदृढीकरण र लगानी वातावरण सुधारमा योगदान पुर्‍याएकी छिन् ।

आइएफसीका अनुसार नेपालमा पूर्वाधार, डिजिटल सेवा, पर्यटन तथा वित्तीय क्षेत्रमा उल्लेखनीय सम्भावना रहेकोले यी क्षेत्रमा दीगो र समावेशी विकासलाई सहयोग पुर्‍याउने रणनीति अनुसार काम अगाडि बढाइने छ ।

नयाँ भूमिकामा अरान्डाराले आइएफसीको व्यवसायिक विकास, पूर्वसंधान गतिविधि विस्तार र निजी तथा सार्वजनिक क्षेत्रसँगको सहकार्य मजबुत बनाउनेछिन् । ‘नेपालको सम्भावना अपार छ र आइएफसीले यहाँका साझेदारहरूसँग मिलेर यो सम्भावना साकार पार्न प्रतिबद्ध छ ।’ उनले भनिन् ।

आइएफसीले विगत पाँच वर्षमा नेपालमा ७० करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । क्लिन ऊर्जा, निजी इक्विटी, वित्तीय र पर्यटन क्षेत्रहरूमा गरिएको लगानीले साना तथा मझौला उद्योगमा सहयोग पुर्‍याउनुका साथै हरित ऊर्जा रूपान्तरण तथा लैंगिक समावेशितामा समेत टेवा पुर्‍याएको छ ।

वित्तीय वर्ष २०२४ मा आएफसी ले नेपालमा पूर्वाधार, निर्माण तथा सेवा, कृषिउद्योग र वित्तीय संस्थाको क्षेत्रमा ८४ मिलियन अमेरिकी डलर बराबरको महत्वपूर्ण प्रतिबद्धता जनाएको छ ।

श्रीलंकाली नागरिक अरान्डारा काठमाडौंस्थित आइएफसीको कार्यालयबाट काम गर्नेछिन् ।

 

प्रकाशित मिति: २३ वैशाख २०८२, मंगलबार  १९ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।