कोरोनाकालमा ह्वात्तै बढेको कर्जा प्रवाह पछिल्लो समय सुस्त गतिमा, कहिले समात्ला लय ?


काठमाडौँ । कोरोना महामारीपछि केही बढेर घट्न सुरु भएको निजी क्षेत्रमा जाने कर्जा प्रवाह न्यून विन्दुमा पुगेर फेरि बढ्न थालेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो ५ आर्थिक वर्षको ८ महिनाको कर्जाको तुलना गर्दा अहिले फेरि कर्जा बढ्न थालेको देखिएको हो ।

यसबीचमा २०७९ फागुनसम्ममा निजी क्षेत्रमा गएको कर्जा प्रवाह २.४ प्रतिशत मात्रै बढेको थियो । तर, त्यसपछि क्रमशः कर्जा विस्तार बढ्न थालेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्ममा निजी क्षेत्रमा जाने कर्जा प्रवाह ५.७ प्रतिशतले बढेर ५४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय ब्याजदरमा आएको गिरावटका कारण कर्जा विस्तार बढ्न केही सहयोग मिलेको हो ।

कोरोना महामारी उत्कर्षमा पुगेका बेला २०७७ साल फागुनसम्ममा निजी क्षेत्रमा गएको कर्जा १७.८ प्रतिशतले बढेर ३८ खर्ब ४६ अर्ब रुपैयाँ विस्तार भएको थियो ।

त्यसपछि २०७८ फागुनमा १२.७ प्रतिशतले बढेर ४७ खर्ब १ अर्ब रुपैयाँ पुग्यो । त्यसपछि २०७९ मा विश्व अर्थतन्त्रमा आइसकेको संकुचनको असर नेपालमा पनि पर्‍यो । जसकारण निजी क्षेत्रमा जाने कर्जा २.४ प्रतिशत मात्रैले बढेर ४८ खर्ब २२ अर्ब रुपैयाँ पुगेको थियो ।

त्यसपछि २०८० फागुनमा निजी क्षेत्रमा जाने कर्जा ४.३ प्रतिशतले बढेर ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेकामा चालु आवको ८ महिनामा ५.७ प्रतिशतले बढेर ५४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको हो ।

२०७६ को माघदेखि विश्वव्यापी कोरोना महामारीका कारण अधिकांश आर्थिक गतिविधि प्रभावित भएका थिए । यसको असर नेपालमा पनि पर्‍यो ।

सोहीअनुसार २०७६ चैत ११ देखि मुलुक लकडाउनको चरणमा प्रवेश गरेको थियो । महामारीबाट अन्य क्षेत्रका साथै पर्यटन, वैदेशिक रोजगारी, साना तथा मझौला उद्यम, पूर्वाधार विकास र व्यापार व्यवसाय जस्ता क्षेत्र बढी प्रभावित भए ।

कोरोनापूर्वको ३ वर्षदेखि उल्लेख्य विस्तार भइरहेको आर्थिक क्रियाकलापमा संकुचनसमेत आएको थियो । राष्ट्र बैंकका अनुसार आव २०७५/७६ मा निजी क्षेत्र कर्जा वृद्धिदर १९.१ प्रतिशत थियो ।

आव २०७६/७७ मा सो वृद्धिदर १२.६ प्रतिशतमा खुम्चिएर आव २०७७/७८ मा फेरि बढेर २६.३ प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा राष्ट्र बैंकले मौद्रिक नीतिको लचिलो कार्यदिशा अवलम्बन गर्नुका साथै विभिन्न नियामकीय छुट/सुविधा दिएको थियो । जसले आर्थिक क्रियाकलाप बढाउन भूमिका खेलेको थियो ।

महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि राष्ट्र बैंकले पुनर्कर्जा लगायतको सुविधा दिएको थियो । जसले कर्जा बढाउन सहयोग गरेको थियो ।

तर, महामारीबाट पुनरुत्थान नहुँदै रुस र युक्रेनबीचको तनावका कारण सिर्जित उच्च मूल्य वृद्धिको सामना गर्नुपर्दा त्यसको असर अहिलेसम्म परेको राष्ट्र बैंकले जनाउँदै आएको छ ।

कोरोना महामारीमा सहजै दिएको कर्जा बढी मात्रामा दुरुपयोग हुँदा पछिल्ला केही वर्षमा बैंकिङ प्रणाली समस्यामा परेको जानकारहरूले बताउँदै आएका छन् ।

यसबीचमा मुलुक आर्थिक मन्दीको अवस्थामा पुगेर फेरि सुधारको अवस्थामा फर्किंदै छ । कर्जा तथा निक्षेपको ब्याजदर न्यून विन्दुमा झरिसकेको अवस्थामा अब फेरि क्रमशः कर्जा विस्तार बढ्न थालेको बैंकरहरू बताउँछन् ।

अहिले ब्याजदर सहज अवस्थामा रहँदा ऋण तिर्नका लागि सहज भएको ऋणीहरूले बताउन थालेका छन् ।

अहिले ऋण तिर्ने क्रम केही बढेको बैंकरहरूको पनि भनाइ छ । यद्यपि कर्जा असुली अपेक्षित गतिमा भने बढेको छैन । जसकारण धेरै बैंकहरू अहिले कर्जा दिनका लागि पर्ख र हेरको अवस्थामा बसेका छन् ।

केही बैंकहरूले कर्जा दिन सक्ने क्षमता भएर पनि दिन चाहेका छैनन् भने केहीको क्षमता कमजोर छ ।

अर्थतन्त्र बिस्तारै चलायमान बन्दै गएको अहिलेको अवस्था केही समयमा थप सहज हुने अनुमान सरकारी निकाय र विज्ञहरूको छ ।

अब मुलुकमा असार मसान्तसम्म खर्च गर्ने प्रवृत्ति छ । जसले गर्दा पुँजीगत खर्च पनि केही बढ्ने देखिन्छ । यसले पनि अर्थतन्त्र चलायमान हुन सहयोग गर्ने र कर्जाको माग बढ्ने बैंकहरूको विश्वास छ ।

राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रमा जाने कर्जा १२.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । केन्द्रीय बैंकको अनुमान बमोजिम कर्जा बढ्ने अवस्था भने अझै नरहेको बैंकरहरू बताउँछन् ।

प्रकाशित मिति: २४ वैशाख २०८२, बुधबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।