सुमेरु पोलिमर्सरले आइपीओ जारी गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग लगानी साझेदारी


काठमाडौं । नेपालमै पहिलो पटक पिभीसी, एचडिपीई, र सिपीभिसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको सुमेरु पोलिमर्सले सार्वजनिक सेयर निष्कासनको तयारी सुरु गरेको छ ।

कम्पनीले पूँजी विस्तारका लागि प्रोस्पेरिटी भेञ्चर्ससँग रणनीतिक साझेदारी गर्दै लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

वि.सं. २०७४ मा पनौती नगरपालिका–९, काभ्रेमा झण्डै ११ रोपनी क्षेत्रफलमा स्थापना भएको सुमेरु पोलिमर्सले यस आर्थिक वर्षमा निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भइसकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ भने आगामी आर्थिक वर्षमा जारी पूँजी वृद्धि गर्दै २७ करोड रुपैयाँ पुर्‍याउने कम्पनीले लक्ष्य लिएको छ । सोही अनुसार कम्पनीले ३० प्रतिशत अर्थात् ८ करोड १० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना अघि सारेको छ ।

कम्पनीले उत्पादन विस्तारसंगै संस्थापक समूहको सेयर स्वामित्व १८ करोड ९० लाख रुपैयाँ पुर्‍याउने तयारीमा छ । यसका लागि चालु आर्थिक वर्षभित्र नयाँ व्यक्तिगत तथा संस्थागत लगानीकर्ता मार्फत ८ करोड ९० लाख रुपैयाँ पूँजी संकलन गरिनेछ ।

यसै सन्दर्भमा कम्पनीका प्रबन्ध निर्देशक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका प्रबन्ध निर्देशक कमल प्रसाद नेपाल बीच सम्झौतामा हस्ताक्षर भएको हो । दिवश घिमिरे कम्पनीको स्थापनाकालदेखि नै प्रमुख प्रवद्र्धकका रूपमा काम गरिरहेका छन् भने कमल प्रसाद नेपाल बैंकिङ र क्यापिटल मार्केट क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव बोकेका वरिष्ठ व्यवसायी हुन् । उनले विगतमा १४ वर्षसम्म एनएमबी क्यापिटल लिमिटेडमा महाप्रबन्धक पदसम्म काम गरेका थिए ।

विगत तीन वर्षदेखि वार्षिक औसत २१ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको सुमेरु पोलिमर्स ले पूँजी संकलनपछि उत्पादन वृद्धि र बजार विस्तार गर्दै आउँदो आर्थिक वर्षमा वार्षिक कारोबार ३० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ । अहिले कम्पनीले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आफ्नो बजार विस्तार गरिसकेको छ भने आगामी वर्षहरूमा ७ वटै प्रदेशमा कारोबार विस्तार गर्ने योजना बनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ र प्रति शेयर आम्दानी ८.२४ रुपैयाँ रहेको छ ।

विद्यमान कम्पनी तथा धितोपत्रसम्बन्धी कानुनअनुसार कम्पनी योग्य ठहर भएमा प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २४ वैशाख २०८२, बुधबार  १८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।