काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालसालै श्वेतपत्र जारी गर्दै प्राधिकरण कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको जनाएको छ । जसको बारेमा सडकदेखि संसद्सम्म चर्को आलोचना भइरहेको छ ।
बुधबार मात्रै प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्राधिकरणलाई समेत सरकारले निजीकरण गर्न खोजेको टिप्पणी गरेको छ ।
‘नाफामा रहेको प्राधिकरणलाई घाटामा गएको देखाएर निजीकरण गर्न खोजिएको त होइन ?,’ माओवादीकी सचेतक रूपा सोशी चौधरीले प्रश्न गरिन् ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्राधिकरण घाटामा रहेको भनिएकोबारे ऊर्जामन्त्रीसँग जबाफ मागेको छ । ‘केही महिनाअघिसम्म नाफामा भएको प्राधिकरण १ महिनाभित्र ५ अर्ब २६ करोड घाटामा छ भन्ने सुनिएको छ । यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीज्यूलाई स्पष्टीकरण दिन माग गर्दछु,’ रास्वपाकी सचेतक निशा डाँगीले भनिन् ।
संसद्मा उक्त विषयमा छानबिनको माग भइरहेको छ भने आमजनताले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यशैली र नियतको आलोचना गरिरहेका छन् ।
‘आव २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ छ भने चालु आवको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको छ । तर, आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा–नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमै रहेको देखिन्छ,’ प्राधिकरणद्वारा जारी श्वेतपत्रमा भनिएको छ, ‘यसर्थ महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदाहरूमध्ये संस्थाले ७ अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । समग्रमा आव २०८०/८१ मा देखाएको नाफा–नोक्सान हिसाबमा थप समायोजन गरी नाफा–नोक्सान कायम गर्नुपर्ने देखिन्छ ।’
‘२०७२/७३ सम्म १ वर्षमै प्राधिकरण ९ अर्ब घाटामा थियो,’ कुलमानले भने, ‘म आएपछि प्राधिकरण नाफामा पुग्यो । न हामीले पिपिएको महसुल बढायौँ, न विद्युत् महसुल । ८ वर्षमा २५ प्रतिशत विद्युत् महसुल घटाएका छौँ । २५ अर्ब महसुल घटाएर नाफामा पुर्याएको हो । यत्रो पैसा घटाएर गरेको नाफामा पनि गलत छ भनिएको छ ।’
तर, यता प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ भने आफ्नो कार्यकालमा प्राधिकरण घाटामा नरहेको बताउँछन् । आफ्नो कार्यकालमा प्राधिकरण १३ अर्ब ६१ अर्ब रुपैयाँ नाफामा रहेको उनको जिकिर छ ।
घिसिङले आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ रुपैयाँ खुद नोक्सानमा रहेको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको बताउँदै आएका छन् । उनले एउटा व्यक्तिले बनाएको श्वेतपत्रको आधारमा प्राधिकरण घाटामा थियो, कुलमानले जनतालाई झुक्याएका थिए भनेर भन्न नमिल्ने बताए ।
प्राधिकरणले बिजुली महसुल र पिपिएको दर बढाउन घाटाको विवरण देखाएको उनको आरोप छ । ‘२०७२/७३ सम्म १ वर्षमै प्राधिकरण ९ अर्ब घाटामा थियो,’ उनले भने, ‘म आएपछि प्राधिकरण नाफामा पुग्यो । न हामीले पिपिएको महसुल बढायौँ, न विद्युत् महसुल । ८ वर्षमा २५ प्रतिशत विद्युत् महसुल घटाएका छौँ । २५ अर्ब महसुल घटाएर नाफामा पुर्याएको हो । यत्रो पैसा घटाएर गरेको नाफामा पनि गलत छ भनिएको छ ।’
यता, प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकार भने महालेखापरीक्षकको प्रतिवेदनमा लामो समयदेखि प्राधिकरणको सम्पत्तिको भौतिक परीक्षण नभएका कारण नाफा देखिएको बताउँछन् ।
यस्तै, प्रचलित अभ्यास र फर्म्याटअनुसार सम्पत्तिको रेकर्ड नराखिएको, स्थिर सम्पत्तिको लेखा सफ्टवेयरभन्दा सम्पत्ति व्यवस्थापन सफ्टवेयरमा ३७.१६ करोड रुपैयाँ कम रकम लेखांकन भएकाले नोक्सान नदेखिएको जारी श्वेतपत्रमा उल्लेख छ ।
निर्यात विद्युत्को परिमाण समावेश गर्दा प्रणालीको वास्तविक चुहावटलाई संकेत गर्न नसक्ने सम्भावना रहेकाले विद्युत निर्यातलाई उत्पादन र बिक्री दुवैबाट घटाउँदा खुद आन्तरिक चुहावट १४.८५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै, गत आवमै नष्ट गरिसकेको ७.५८ करोड रुपैयाँको सम्पत्ति यस आव २०८०/८१ मा रेकर्डबाट हटाउनुपर्नेमा नहटाइएको, २ हजार १७९ रोपनी जग्गा रेकर्डमा देखाइए पनि संस्थाको नाममा लालपुर्जा नभएको, २४.१२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति पुँजीकरण कुनै आधारबिना नै गरिएको र सोको भौतिक परीक्षण पनि गर्न नसकिएको, आव २०८०/८१ मा स्थिर सम्पत्तिमा ह्रास समायोजन ४४.३४ करोड रुपैयाँ गरेको, तर सोको समायोजन संस्थाको स्थिर सम्पत्तिमा नगरेकाले संस्थाको यथार्थ सम्पत्ति कायम हुन नसकेकाले पहिला प्राधिकरणको यथार्थ विवरण पत्ता नलागेको उनको भनाइ छ ।
-
प्राधिकरणको वर्तमान अवस्था
सार्वजनिक गरिएको श्वेतपत्रअनुसार ९७.५ प्रतिशत पालिका र ९५ प्रतिशत वडाहरूमा विद्युत् पहुँच पुगेको छ भने घरसंरचनाका आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याको आधारमा ८४.६२ प्रतिशत विद्युतकीरण भएको देखिन्छ । २०८१ माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या (मिटर संख्या) ५५ लाख ८६ हजार ३७ छ ।
उत्पादनतर्फ, चालु आवको माघसम्म नेपालको कुल जडित उत्पादन क्षमता ३ हजार ५११.५७ मेगावाट छ । जसमध्ये प्राधिकरण मातहतका विद्युत् गृहहरूको जडित क्षमता ६६१.५७ मेगावाट छ ।
चालु आवको फागुनसम्ममा आयातसहित प्रणालीमा उपलब्ध करिब १० हजार ४३० ऊर्जा मापन एकाइमध्ये करिब ८ हजार ६६५ ऊर्जा मापन एकाइ विद्युत् आन्तरिक खपत र १ हजार ७६५ गिगावाट आवर निर्यात भएको छ । यस अवधिमा २०६ ऊर्जा मापन एकाइ युनिट विद्युत् अवरुद्ध भएको छ ।
२०८१ फागुन मसान्तसम्म आन्तरिक उच्चतम माग २ हजार ३३७ मेगावाट छ भने चालु आवको अन्तिमसम्म २ हजार ४३८ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा प्रणालीमा चुहावटसहितको कुल राष्ट्रिय मागका आधारमा प्रतिव्यक्ति विद्युत् खपत ४०० किलोवाट आवर छ भने चुहावट बाहेकको कुल विद्युत् बिक्रीका आधारमा प्रतिव्यक्ति विद्युत् खपत ३५१ किलोवाट आवर छ ।
२०८१ माघ मसान्तसम्म प्रसारण प्रणालीमा ३.३८ प्रतिशत र वितरण प्रणालीमा ९.२१ प्रतिशत चुहावट (निर्यातसहित) छ ।
निर्यात विद्युत्को परिमाण समावेश गर्दा प्रणालीको वास्तविक चुहावटलाई संकेत गर्न नसक्ने सम्भावना रहेकाले विद्युत निर्यातलाई उत्पादन र बिक्री दुवैबाट घटाउँदा खुद आन्तरिक चुहावट १४.८५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया