भुताहा–आमबास–दुम्कीबास सडक निर्माण गर्न बजेट माग


काठमाडौँ । प्रतिनिधिसभाका सदस्य सरिता भुसालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रुपमा रहेको भुताहा–आमबास–दुम्कीबास सडक बजेट अभावका कारण अधुरै रहेकाले बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भनिन्, “गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागलाई जोड्ने यो सडक निर्माण हुँदा ग्रामीण भेगका नागरिकलाई सडकको पहुँचमा पुर्याउन नसक्छ, यसलाई पर्यटन मार्गका रुपमा पनि लिन सकिन्छ ।” भुताहा, आमबास र दुम्कीबास सडकका लागि सरकारले निरन्तर बजेट उपलब्ध नगराउँदा निर्माण कार्य अधुरै रहन गएकाले आगामी आर्थिक वर्ष बजेट व्यवस्था गर्न माग गरिन्  ।

सांसद डा. स्वर्णिम वाग्लेले भारत र चीनसँग जोडिएको नेपालको सिमानाकामा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरे ।

सांसद सीताकुमारी रानाले संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि अनुमोदन गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन् । सिङ्गो देशलाई बालमैत्री बनाउन तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालले गरेको प्रतिबद्धता पूरा गर्न राज्यले बालबालिकामा गरेको लगानी न्यून भएको उल्लेख गर्दै उनले अबको बजेट बालबालिकामैत्री हुनुपर्ने बताइन् ।

प्रकाशित मिति: २६ वैशाख २०८२, शुक्रबार  १३ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।