काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको चैत महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही महिनाको तुलनामा मुद्रास्फीति दर १.२२ प्रतिशत विन्दुले घटेको हो ।
गत आवको सोही महिनामा मूल्यवृद्धि दर ४.६१ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा बढी ११.६३ प्रतिशतले बढेको छ ।
त्यस्तै, फलफूलमा ९.०७ प्रतिशत, दाल तथा गेडागुडीमा ६.५८ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थमा ५.१६ प्रतिशतले वृद्धि भएको छ ।
तर, तरकारीमा ५.२४ प्रतिशत, मरमसलामा २.३२ प्रतिशत र माछा तथा मासुमा ०.८९ प्रतिशतले मूल्य घटेको देखिएको छ ।
गैर खाद्य तथा सेवा समूहभित्र विविध वस्तु तथा सेवामा ८.६९ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ५.५९ प्रतिशत र सुर्तिजन्य पदार्थमा ४.८३ प्रतिशतको मुद्रास्फीति देखिएको छ ।
क्षेत्रीय रूपमा हेर्दा ग्रामीण क्षेत्रमा मुद्रास्फीति दर ३.७८ प्रतिशत र शहरी क्षेत्रमा ३.२५ प्रतिशत रहेको छ ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ । त्यसपछि मधेश प्रदेशमा ३.५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ३.५१ प्रतिशत, कर्णाली र लुम्बिनी प्रदेशमा समान ३.११ प्रतिशत, गण्डकी प्रदेशमा २.८३ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम २.८० प्रतिशत मुद्रास्फीति देखिएको छ ।
काठमाडौं उपत्यकामा २.९५ प्रतिशत, तराई क्षेत्रमा ३.३१ प्रतिशत, पहाडी क्षेत्रमा ३.४६ प्रतिशत र हिमाली क्षेत्रमा ४.४७ प्रतिशत मुद्रास्फीति देखिएको छ ।
थोक मूल्यतर्फ हेर्दा, २०८१ चैत महिनाको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.२० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ४.९४ प्रतिशत थियो । समीक्षावधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ९.८३ प्रतिशतले बढेको छ भने मध्यवर्ती वस्तुमा १.०८ प्रतिशत र पुँजीगत वस्तुमा ३.९६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, निर्माण सामग्रीको थोक मुद्रास्फीति पनि २.५२ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया