बुद्ध जन्मभूमि लुम्बिनीे गौरवको केन्द्रः मुख्यमन्त्री आचार्य


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताएका छन् । २५६९औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिता र सहकार्यमा मात्र लुम्बिनीको दीर्घकालीन र दिगो विकास सम्भव हुने विश्वास व्यक्त गरे ।

उनले भगवान् बुद्धका उपदेशहरूबाट प्रेरणा लिएर सामाजिक सद्भाव, सहिष्णुता, एकता र समर्पणको भावना फैलाउन आग्रह समेत गरे ।

लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यका साथ प्रदेश सरकार अघि बढिरहेको समेत उनले उल्लेख गरे । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रविन्दुमा राखी कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर ‘बुद्ध सर्किट’ निर्माण गर्ने र समग्र १२ जिल्लालाई समेट्ने ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणालाई कार्यान्वयन गर्ने सङ्कल्प गरिएको उनले उल्लेख गरे ।

“लुम्बिनीको समग्र विकासका लागि तयार पारिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित छ”, मुख्यमन्त्री आचार्यले सन्देशमा भने, “ बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा, सदाचार र शान्तिको मार्गदर्शनले व्यक्ति, समाज, राष्ट्र र विश्वकै कल्याणमा सकारात्मक प्रभाव पार्ने छ भन्ने दृढ विश्वास लिएको छु ।”

उनले लुम्बिनीको पूर्वाधार, पहुँच, पर्यटन प्रवद्र्धन र विश्व समुदायसँगको सहकार्यका माध्यमबाट लुम्बिनीलाई विश्वस्तरीय गन्तव्यस्थल बनाउन तीव्र प्रयास भइरहेको जानकारी दिए।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।