बाराका तत्कालीन हुलाक प्रमुखसहित ६ कर्मचारीमाथि भ्रष्टचार मुद्दा दायर


काठमाडौँ । जिल्ला हुलाक कार्यालय बारामा कार्यरत तत्कालीन प्रमुख जयलाल प्रसाद कानूसहित ६ जना कर्मचारीविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ भ्रष्टचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कानूसहित अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव, सुजित कुमार शाह र तत्कालिन ना.सु. बलीराम प्रसाद कर्मी माथि भ्रष्टचार गरेको मुद्दा दायर गरिएको हो ।

बलीराम प्रसाद कर्मीले २०६० सालदेखि हुलाक बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए । बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुशी अपचलन गरेको भनी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । सो उजुरीको आधारमा हाल पुर्पक्षको लागि थुनामा रहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।

कुर्मीले पासबुक र लेजर बुकमा मात्र विवरण उल्लेख गरी कार्यालयको नगदी रजिष्टरमा नजनाई, बैंकमा दाखिला नगरी र केन्द्रीय कार्यालयलाई जानकारी नदिइ निक्षेप रकम अपचलन गरेको दाबी छ । उनले तत्कालीन कार्यालय प्रमुखहरुसँग मिलेमतो गरी जनता तथा सेवाग्राहीबाट उठेको निक्षेप रकम साँवा ब्याजसहित कूल ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ दुरुपयोग गरेको आयोगले जनाएको छ ।

आरोपित सबै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम भ्रष्टाचारको कसूरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ३० वैशाख २०८२, मंगलबार  १४ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।