काठमाडौं । नेपाल औषधी लिमिटेडले बनाएका सस्तो मूल्यका औषधीहरू ( सिटामोल, जीवनजल) सरकारी अस्पतालहरूमा पुग्न नसकेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई समाधान गर्न पहल सुरु गरेका छन्।
मन्त्री पौडेलले वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल औषधी लिमिटेडका अधिकारीहरूसँग छलफल गर्दै ती औषधीहरू संघ, प्रदेश र स्थानीय तहका सरकारी स्वास्थ्य संस्थामा कसरी पुर्याउने भन्ने विषयमा छलफल गरेका हुन् ।
उनले भने, “सर्बसाधारणलाई सस्तो मूल्यमा औषधी उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। त्यसैले लिमिटेडका उत्पादन निरन्तर हुन जरुरी छ। गुणस्तरको प्रमाणपत्र लिन पनि सरकारबाट सहयोग गरिएको छ।”
सरकारी अस्पतालमा अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधीहरू पनि लिमिटेडबाट किन्न सकिने व्यवस्था गर्न गृहकार्य भइरहेको मन्त्री पौडेलले बताए।
बैठकपछि, औषधी लिमिटेडका औषधीहरू सरकारी स्वास्थ्य संस्थामा सहज रूपमा पुर्याउन सहजीकरण समिति गठन गरिएको छ। यस समितिको नेतृत्व वाणिज्य मन्त्रालयका सहसचिवले गर्नेछन्। साथै, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय र औषधी लिमिटेडका प्रतिनिधिहरू पनि समिति सदस्य रहनेछन्।
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, वाणिज्य मन्त्रालयका सचिव कृष्णबहादुर राउत, औषधी लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने र महाप्रबन्धक कैलाशकुमार पनेरु पनि सहभागी थिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, समितिको सुझाव अनुसार सरकारले निर्णय गरेर अगाडि बढ्नेछ।
प्रतिक्रिया