तनहुँ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार व्यास नगरपालिकाको दमौली बजारको एक किलोमिटर ८०० मिटर, बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजार नजिक ३०० मिटर र सोही गाउँपालिकाको विमलनगरमा ७०० मिटर खण्डमात्रै कालोपत्र गर्न बाँकी छ ।
दमौली बजारअन्तर्गत बागबजार र मुख्यचोकमा एकतर्फी कालोपत्र भइसकेको छ । अर्कोतर्फ कालोपत्रका लागि पूर्वतयारीका काम जारी छ । त्यस क्षेत्रमा कालोपत्रका लागि काम भइरहेको छ । पूर्वी खण्डका कालोपत्र सकिएका ठाउँमा सडक मार्किङ गर्ने काम पनि भइरहेको छ । पाण्डले भने, “तेस्रो पटक थप भएको म्यादभित्रै बाँकी काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको छ ।”
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।
त्यस्तै पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति ५२ प्रतिशत पुगेको छ । यो खण्डका लागि विसं २०७८ जेठ ३ गते सम्झौता भएको थियो । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले सात अर्ब ४० करोड रुपैयाँमा पाएको थियो ।
प्रतिक्रिया