प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती


काठमाडौँ । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।

मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त भएका श्रमिकलाई परिचालन गरेर आलुखेती हो ।

व्यावसायिक आलुखेतीका लागि बीउ र मल खरिद गर्न पालिकाले ९५ हजार रुपैयाँ लगानी गरेको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले उक्त खेती गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भइरहेको गुनासो आइरहेका बेला पालिकाले कृषिजन्य उत्पादनमूलक क्षेत्रमा परिचालन गरेको क्षेत्रीले बताए ।

मोदी गाउँपालिकाको वडा नं. १, ३ र ४ आलु उत्पादनका लागि ‘पकेट’ क्षेत्र मानिन्छन् । लामो समयसम्म बाँझो रहेको जमिन उपयोग गरेबापत पहिलो वर्ष निःशुल्क जग्गा प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि जग्गा भाडामै लिएर आलुखेती गर्ने योजना पालिकाको रहेको गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले बताइन् । उनले ५० क्विन्टलभन्दा बढी उत्पादन हुने अनुमान सुनाइन् ।

पालिकाले हरेक वर्ष १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान गर्दै आएको छ । उनीहरूलाई सडक मर्मत, गोरेटो तथा पदमार्ग निर्माण, सार्वजनिकस्थल, चौतारी, पोखरी, मठमन्दिर मर्मत तथा निर्माणलगायत काममा परिचालन गर्ने गरिएको छ ।

प्रकाशित मिति: ३१ वैशाख २०८२, बुधबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।