काठमाडौँ । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब रुपैयाँ नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बराबर बेरुजु थपिएको छ ।
महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा ९.४५ प्रतिशतले बढेको छ ।
त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम ५ खर्ब ५१ अर्ब १ करोड रुपैयाँ गरी कुल १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ बराबर पुगेको हो । यसरी हालसम्मको कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ नाघेको हो ।
अद्यावधिक बेरुजुतर्फ सङ्घीय सरकारी कार्यालयको ३ खर्ब ७५ अर्ब ४७ करोड रुपैयाँ , प्रदेश सरकारी कार्यालयको ३० अर्ब ४८ करोड १९ लाख रुपैयाँ , स्थानीय तहको २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ र समिती तथा अन्य संस्थाको १ खर्ब १७ अर्ब ९४ करोड रुपैयाँ बराबर रहेको छ ।
प्रतिक्रिया