विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेको छलफल भोलि पुनः हुने भएको छ ।

आजको बैठकमा सांसद महेश बस्नेतले देशको वस्तुगत यर्थाथलाई बजेटको सिद्धान्त र प्राथमिकता समेटेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि बजेट केन्द्रित गर्नुपर्नेमा सुझाव दिए ।

सांसद ज्ञानु बस्नेत सुवेदीले विकासको मूल आधार कृषि भएकाले जमिनको व्यवस्थापन, बजार तथा भण्डारको व्यवस्थापनका साथै भौतिक पूर्वाधार विकासमा समेत बजेटको सिद्धान्त र प्राथमिकता उत्कृष्ट भएको बताइन् ।

सांसद सूर्यप्रसाद ढकालले शिक्षा, स्वास्थ, पूर्वाधार, अर्थतन्त्रको ढाँचाको सुधार गर्न खोजेको र प्राथमिकता तथा प्रतिफल हुने क्षेत्रमा मात्र बजेटले योजना अघि सारेको बताए ।

सांसद सराज अहमद फारूकीले दुर्गम तथा पछाडि परेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने र विपद् व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

सांसद सरस्वती सुब्बाले ७५३ वटै स्थानीय तहमा कृषि भूमिको संरक्षण गर्न कित्ताकाट बन्द गर्नुपर्ने र जलवायु परिर्वतन न्यूनीकरण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।

सांसद नारायणप्रसाद आचार्यले मुलुकलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू ल्याउनुपर्ने र नारामा मात्र नभएर व्यवहारमा कार्यान्वयन हुने खालका बजेट आउनुपर्ने बताए ।

छलफलका लागि प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते ११ बजे बस्नेछ ।

प्रकाशित मिति: ३१ वैशाख २०८२, बुधबार  १८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।