वैदेशिक रोजगारीमा ठगिएका २४ जनालाई ५४ लाख रुपैयाँ फिर्ता


काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगीमा परेका तनहुँ जिल्लाका २४ सर्वसाधारणलाई कुल ५४ लाख २ हजार रुपैयाँ फिर्ता गरिएको छ।

उक्त रकम जिल्ला प्रशासन कार्यालय, तनहुँमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को पहलमा फिर्ता गराइएको हो। वैदेशिक रोजगारीको आशामा ठगिएका पीडितहरूलाई न्याय दिलाउन परियोजना सक्रिय रूपमा लागेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीका अनुसार, चालु आर्थिक वर्षको चैत मसान्तसम्म केन्द्रमा कुल १०४ उजुरीहरू दर्ता भएका थिए। तीमध्ये २४ उजुरीको समाधान गरी पीडितहरूलाई रकम फिर्ता गरिएको हो । यस्तै बाँकी ८० उजुरी वैदेशिक रोजगार विभागमा पठाइएको छ।

सामी परियोजनाले हालसम्म १० हजार २६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श प्रदान गरेको छ। परामर्श प्राप्त गर्नेमा ६ हजार ४०७ पुरुष र ३ हजार ६१९ महिला रहेका छन्।

यस्तै, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकका परिवारहरू तथा दुर्घटनामा परेकाहरूलाई बीमा वापत ४ करोड २१ लाख १९ हजार २५६ रुपैयाँ उपलब्ध गराइएको परियोजनाले जनाएको छ।

तनहुँ जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र अधिकार सम्पन्न बनाउने लक्ष्यका साथ सामी परियोजना वि.सं. २०७६ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको छ।

प्रकाशित मिति: ३१ वैशाख २०८२, बुधबार  १८ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।