खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान


कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए । उनले दिनमा १० हजारदेखि १२ हजार रुपैयाँसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिए । ‘धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरुगाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले १/२ दिन बिराएर बिक्री गर्ने गरेको छु, उनले भने ।

लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजाखेती गर्दै आएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताए । उनले दिनमा ४ हजारदेखि ७ हजार रुपैयाँसम्म आम्दानी हुने जानकारी दिँदै दैदिक २ क्विन्टलसम्म बिक्री हुने गरेको उल्लेख गरे ।

‘उत्पादनको सुरुमा ४० देखि ६० रुपैयाँमा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो ३० रुपैयाँमा बिक्री भइरहेको छ । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ,’ उनले भने ।

किसानले यस वर्ष खुटिया, शिवगङ्गा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजाखेती गरिरहेका छन् । त्यस्तै, मोहना नदीबगरको जुगेडा, घुइँयाघाट, बङ्गरा कटान क्षेत्रमा पनि केही किसानले व्यावसायिक खरबुजाखेती गरेका छन् । नदीबगरमा थारू समुदायका व्यक्तिसहित भारतीय किसानले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आएका छन् ।

प्रकाशित मिति: १ जेठ २०८२, बिहीबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।