विराटनगर महानगरपालिकाको बेरुजु ०. ३२ प्रतिशत


काठमाडौँ । ६ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु ०. ३२ प्रतिशत मात्र देखिएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैया मात्र बेरुजु देखिएको हो । आव २०८०/८१ मा २१ करोड रुपैयाँ बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेकामा आव २०७८/७९ मा २२ करोड ९४ लाख ८१ हजार रुपैयाँ थपिएको थियो ।

जसमा आव २०७८र७९ मा १ अर्ब १९ करोड ४२ लाख ५२ हजार रुपैयाँ बेरुजु फछ्र्यौट गरिएको थियो । २०७८/७९ सम्म कूल बेरुजु ७६ करोड ९ लाख ७२ हजार रुपैयाँ रहेकामा आव २०७९/८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा २३ करोड ८३ लाख रुपैयाँ फछ््र्यौट गरिएको थियो ।

आव २०७९/८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार रुपैयाँ बाँकी रहेकामा आव २०८०/८१ मा २ करोड ८ लाख थपिएको र २१ करोड रुपैयाँ फछ्र्यौट भई आव २०८०/८१ मा जम्मा ३१ करोड ४६ लाख २५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दीए ।

गत ३ आर्थिक वर्षको महानगरको कूल बेरुजु १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उनको भनाइ थियो ।

आव २०७९/८० मा ७ करोड ११ लाख ५३ हजार रुपैयाँ बेरुजु रहेकामा २०८०/८१ मा २ करोड ८ लाखरुपैयाँ मात्रै बेरुजु देखिएको छ । जुन ०.३२ प्रतिशत मात्रै हो ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूले नेतृत्व सम्हालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए । महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै २ अर्ब रुपैयाँ बेरुजु रहेकामा अहिले कूल बेरुजु रकम ३१ करोड रुपैयाँ मा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ ।

प्रकाशित मिति: १ जेठ २०८२, बिहीबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।