१० महीनामा झापामा २ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन


काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ६१ करोड ६६ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा यो ९.५६ प्रतिशतले बढी हो । गत आवमा २ अर्ब ३८ करोड ८३ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । चालु आवमा ४ अर्ब ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य उनले सुनाए ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ .०३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए । कार्यालयले १० महिनामा आयकरबाट १ अर्ब १६ करोड ९ लाख, ब्याजबापत ८ करोड ६५ हजार रुपैयाँ , मूल्य अभिवृद्धि करबापत ८६ करोड ५४ लाख ९७ हजार रुपैयाँ , अन्तःशुल्कबापत ४७ करोड ४६ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

“कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ”, प्रमुख कर अधिकृत काफ्लेले भने ।

प्रकाशित मिति: २ जेठ २०८२, शुक्रबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।