वीरगञ्ज भन्सारद्वारा १० महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ राजस्व सङ्कलन


काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा १ खर्ब ४० अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४.१३ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए । “चालु आव सकिन अब दुई महिनामात्रै बाँकी छ”, उनले भने, “सो अवधिमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छौँ ।”

कार्यालयले साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिकमा ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यस्तै, फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

प्रकाशित मिति: २ जेठ २०८२, शुक्रबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।