काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र पम्पसेट वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को विनियोजित बजेटबाट १९ थान मिनीटिलर र ८० थान पम्पसेट वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए ।
कोहलपुर नगरपालिकाका वडा नं १ देखि वडा नं १५ सम्मका किसान, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख सङ्गीता सुवेदीले ती सामग्री वितरण गरेका छन् ।
त्यसैगरी, साना सिँचाइ प्रवर्द्धन कार्यक्रमअन्तर्गत ८० थान पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनीटिलरको बजारमूल्य १९ हजार रुपैयाँ छ भने पम्पसेटको बजारमूल्य ९ हजार रुपैयाँको हाराहारीमा छ ।
सो अवसरमा नगरप्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका लागि किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएकोे किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको बताएका छन् ।
उपप्रमुख सुवेदीले किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको र मागमा आधारित योजना कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन ।
भेरी ज्येष्ठ नागरिक कृषक समूहका अध्यक्ष मोहन रिजालले नगरपालिकाले अनुदानमा कृषि उपकरण उपलब्ध गराएको जनाउँदै खुसी व्यक्त गरे। उनले कृषि पेशालाई व्यावसायिक बनाउनका लागि मल, बीउबिजन तथा कृषि उपकरणमा नगरपालिकाले सहयोग गर्न आग्रह गरेका छन् । यसबाहेक नगरपालिकाले च्याउको बीउ, खाद्यान्न बाली, साना सिँचाइको संरचना निर्माणलगायतमा समेत किसानलाई सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया