सुनको आयात घटेपनि रेडिमेट गहनाको आयातमा वृद्धि कायमै


काठमाडौँ । पछिल्लो समय सुनको आयात घटेतापनि सुनको तयारी गहनाको आयात भने बढ्दो क्रममा रहेको छ । मूल्य बढेकाले नेपालमा सुनको गहना बिक्रीमा समस्या आएको व्यवसायीहरुले बताउँदै आएतापनि तयारी गहना आयात भने बढेको पाइएको हो ।

आव २०७७\७८ मा ५२ केजी सुनको गहना आयात हुँदा २०८०\८१ मा ६३ केजी गहना आयात भएको छ । मूल्य बढेतापनि गहना आयातमा भने कमी नआएको भन्सार विभागले जनाएको छ ।

यता, चार वर्षको अवधिमा सुनको आयात १ हजार २७३ केजीले कमी आएको छ । २०७७\७८ मा ३ हजार ९२४ किलो सुन आयात हुँदा गत आव २०८०\८१ मा २ हजार ६५१ किलो सुन आयात भएको थियो ।

नेपालमा ५ वर्षको अवधीमा २९२ केजी सुनका गहना आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७\७८ देखि २०८१\८२ को बैंशाखसम्ममा नेपालमा सुनका गहना मात्र ३४ अर्ब १२ करोड २८ लाख ४ हजार रुपैयाँको सुनका गहना आयात भएको छ । उक्त गहना आयातबाट सरकारले १ खर्ब ५८ करोड १० लाख ४ हजार राजश्व संकलन गरेको छ ।

कुन वर्ष कति भित्रिए गहना ?

आर्थिक वर्ष २०७७\७८ मा २ अर्ब २१ करोड ४२ लाख १ हजार बराबरको ५२ केजी सुनका गहना आयात भएको छ । उक्त सुनका गहनाबाट सरकारले २२ करोड ४६ लाख २ हजार रावश्व संकलन गरेको छ ।

त्यसैगरी आव २०७८\७९ मा दोब्बर बढी सुनका गहना आयात भएको थियो । अघिल्लो आवमा ५२ केजी सुनका गहना आयात भएकोमा २०७८\७९ मा ९ अर्ब ७४ करोड ९७ लाख ५ हजार रुपैयाँ १०२ केजी सुनका गहना आयात भएको हो । उक्त वर्ष सरकारले ४१ करोड ४५ लाख २ हजार राजश्व संकलन गरेको छ ।

यस्तै आव २०७९\८० मा भने सुनका गहना आयात घटेको छ । सो अवधिमा ११ अर्ब ७० करोड २३ लाख ८ हजार रुपैयाँमा ३४ केजी सुनका गहना आयात भएको छ । उक्त गहनाबाट सरकारले १७ करोड ९५ लाख २ हजार राजश्व संकलन गरेको छ ।

यसैगरी आव २०८०\८१ मा ५ अर्ब ६७ करोड ४ लाख ७० हजार रुपैयाँको ६३ केजी सुनका गहना आयात भएको छ । सो अवधिमा सरकारले ४ करोड ३५ लाख ८८ हजार राजश्व संकलन गरेको छ ।

चालु आवको बैशाखसम्ममा नेपालमा ४ अर्ब ७८ करोड १ लाख ८० हजार बराबरको ४० केजी सुनका गहना आयात भएको छ । सरकारले ३ करोड २६ लाख ५० हजार राजश्व संकलन गरेको छ ।

नेपालबाट कति हुन्छ निर्यात ?

आव २०७७\७८ मा नेपालबाट ३ अर्ब ६९ करोड ८० लाख १०० रुपैयाँ बराबरको ३६ केजी सुनका गहना निर्यात भएको छ ।

त्यस्तै, आव २०७८\७९ मा भने ५ अर्ब ३२ करोड ७८ लाख ६ हजार रुपैयाँको ६१ केजी सुनका गहना निर्यात हुँदा २०७९\८० मा १ अर्ब ८८ करोड ७३ लाख १ हजार रुपैयाँको १९ केजी गहना निर्यात गरिएको छ ।

त्यसैगरी, २०८०\८१ मा भने ५ करोड ८२ लाख ३५ हजार रुपैयाँको ५ केजी मात्र गहना निर्यात हुँदा चालु आवको बैशाखसम्ममा ३ करोड ४९ लाख ६६ हजार रुपैयाँको साढे १ केजी मात्र गहना निर्यात भएको छ ।

प्रकाशित मिति: ९ जेठ २०८२, शुक्रबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।