काठमाडौँ । वीरगञ्ज सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर–१० बजरङ्गस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको ७ लाख ७० हजार ५०० मूल्य रुपैयाँका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले बिआर०५यु ४५३० नम्बरको करिब १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरेको छ ।
बरामद गरिएका कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्रले वीरगञ्ज महानगर–१० तथा १६ बाट विभिन्न सीमानाकाबाट २ लाख ४८ हजार १०१ रुपैयाँ बराबरको कपडा तथा मसला बरामद गरेको छ । मङ्गलबार नै सशस्त्र प्रहरीले बिन्दवासिनि गाउँपालिका प्रसौनिबाट भारतबाट अवैध रूपमा भन्सार छली बिआर२२यु १४३२ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको २३ हजार ३८० रुपैयाँ मूल्यका किरानाका सामान बरामद गरेको छ ।
प्रतिक्रिया