भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा


काठमाडौँ । व्यवसायीक  ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका  छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो  ।

बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा ५५ रुपैयाँ हाराहारी खर्च हुने व्यवसायीहरु बताउछन् । झण्डै २ महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा १५/२० रुपैयाँमा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री गर्ननै नसकेको गुनासो गरेका छन् ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न ५५ रुपैयाँ खर्च हुन्छ । निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरु बैंकिङ ऋण थपेर चल्न बाध्य भएको उनले बताए ।

उपाध्यक्ष पोखरेलका अनुसार चल्लाको उत्पादन बढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएको कारण चल्लाको मूल्य घटेको हो । १ सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो सङ्ख्या बढेर ३५ लाख नाघेको छ । भारतीय क्षेत्रबाट निर्वाध रुपमा चल्ला भित्रिएको व्यवसायी बताउँछन् । नेपाल ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतिबेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन् । बढ्दो गर्मी, खेतीको मौसम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्री हुन नसकेको उनी बताउँछन् ।

उनका अनुसार प्रति गोटा १ सय ३० रुपैयाँ खर्च  हुने लेयर्स कुखुराको चल्ला पनि १ सय रुपैयाँ को हाराहारीमा बेच्नु परेको छ । २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्री नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ ।

नेपालका ह्याचरी उद्योगहरु हरेक हप्ताको आइतबार र मङ्गलबार ह्याचरीबाट चल्ला निकाल्ने गर्दछन् । नेपालमा १ सय १८  ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन् ।  कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३ सय ४८ ह्याच्री उद्योग सञ्चालनमा थिए ।

यस्तै १४ रहेको लेयर्स ह्याचरी रहेका थिए । त्यतिबेला  एक सातामा बोइलर चल्ला ५५ लाख उत्पादन हुने गरेको थियो ।  लेयर्स चल्ला सातामा २ लाख ५० हजारबाट १ लाख ३० हजारमा झरेको छ ।

चल्लाले मूल्य नपाउनु, दाना र औँषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनु लगायतका कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित हुँदै गएका छन् ।

प्रकाशित मिति: २९ जेठ २०८२, बिहीबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।