व्यवसाय विस्तारमा पुराना जीवन बीमा कम्पनीलाई टक्कर दिँदै नयाँ कम्पनी

0
Shares

नेपालको जीवन बीमा कम्पनीको रुपमा करिब ३ वर्ष अघि स्थापना भएका नयाँ जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय विस्तारमा पुराना कम्पनीहरुलाई टक्कर दिने गरि अगाडि बढ्न थालेका छन्।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा कान्छो बीमा कम्पनीको रुपमा स्थापना भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०७६।७७ मा आफ्नो ब्यवसाय विस्तार सबैभन्दा धेरै गरेको छ। कम्पनीले ३०० प्रतिशतले प्रथम बीमा शुल्क वृद्धिगर्दै ८० करोड रुपैयाँ संकलन गरेको छ। अघिल्लो वर्ष नयाँ बीमा पोलिसी बेचेर २० करोड रुपैयाँ मात्र प्रथम बीमा शुल्क आर्जन गरेको थियो।

वृद्धिको आधारमा मात्र होइन रकमका आधारमा पनि महालक्ष्मी लाइफले नयाँ आईएमई लाइफ,सन नेपाल लाईफ र सानिमा लाइफ सँगै पुरानो बीमा कम्पनी गुराँस लाइफलाई पनि पछि पारेको छ।

यसअघि वृद्धि गरेको व्यवसाय (पुराना बीमा पोलिसी) बाट प्राप्त हुने बीमाशुल्क संकलन र नवीकरणमा पुराना कम्पनीहरु रमाउँदै गर्दा नयाँ बीमा कम्पनीहरुलाई पुराना कम्पनीहरुसँग प्रतिस्पर्धामा उत्रन पनि नयाँ बीमा पोलिसी बिक्री गर्नुपर्ने चुनौती छ।

यसले पनि नयाँ कम्पनीहरुलाई व्यवसाय विस्तार गर्नेपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ। जसले गर्दा १९ जीबन बीमा कम्पनीमा नयाँ दशमध्ये ८ वटाले नयाँ ब्यवसाय विस्तारको दर पुराना कम्पनीको भन्दा धेरै छ।

कयौं वर्षदेखि बीमा बजारमा अधिपत्य जमाएका बीमा कम्पनीहरुको व्यवसाय विस्तार (नयाँ बीमा पोलिसी बिक्री) को दर निकै सुस्त देखिएको छ। पुराना तीन बीमा कम्पनीको व्यवसाय विस्तार त अघिल्लो आवमा भन्दा गत वर्षमा घटेको तथ्याङ्कमा देखिएको छ।


यस अवधिमा पुराना कम्पनीमा प्राइम लाईफ, मेट लाईफ, नेपाललाईफ र गुराँस लाईफले दोहोरो प्रतिशतमा प्रथम बीमाशुल्क संकलन बढाएका छन्। उता नेशनल लाईफ इन्स्योरेन्सको नयाँ व्यवसाय विस्तार ३५.७७ प्रतिशतले घटेको छ। एलआईसी नेपाल र एशियन लाईफ इन्स्योरेन्सको पनि नयाँ व्यवसाय वृद्धि अघिल्लो वर्षको तुलनामा गत आवमा घटेको छ।

दश वटा नयाँ जीबन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा १० अर्ब ८९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा७ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका नयाँ बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ५०.८९ प्रतिशतले वृद्धि गरेका हुन्।

कुनैपनि कम्पनीले एक आर्थिक वर्षमा संकलन गर्ने प्रथम बीमा शुल्कबाट सो कम्पनीलाई व्यवसाय विस्तारको आधारमा मूल्यांकन गर्न सकिन्छ। प्रथम बीमा शुल्कले सम्बन्धित कम्पनीले अघिल्लो आवको तुलनामा सो आर्थिक वर्ष कतिब्यापार र्गयो भन्ने जानकारी दिने शेयर बजारमा गरिने लगानी निर्णयका लागि यस तथ्यांकलाई महत्त्वपूर्ण मानिन्छ।

गत आर्थिक वर्षमा १९ वटा जीबन बीमा कम्पनीहरुले कूल ३३ अर्ब ८० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन्। यो रकम अघिल्लो आवको तुलनामा १६.८१ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा जीबन बीमा कम्पनीहरुले पोलिसी बिक्री (प्रथम बीमा शुल्क) बाट २८ अर्ब ९४ करोड रुपैयाँ संकलन गरेका थियो।

प्रति कर्मचारी औसत प्रथम बीमा शुल्क संकलनमा एलआईसी नेपाल अगाडि, सन नेपाल लाईफ पुछारमा

जीबन बीमा कम्पनीले गतआर्थिक वर्षमा संकलन गरेको प्रथम बीमा शुल्कमध्ये औषत प्रति कर्मचारीको आधारमा एलआईसी नेपालका कर्मचारीले सबैभन्दा धेरै संकलन गरेका छन्। यस कम्पनीमा एक कर्मचारीले औसत १ करोड ६७ लाख ७ हजार प्रथम बीमा शुल्क संकलन गरेका हुन्। २४९ जना कर्मचारी रहेको यस कम्पनीले गतआवमा ४ अर्ब १६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाल लाईफको प्रतिकर्मचारी औषत प्रथम बीमाशुल्क संकलन १ करोड ६६ लाख ५६ हजार छ । ६१० जना कर्मचारी रहेको कम्पनीले गतआवमा १० अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ।

प्रतिकर्मचारी औषत प्रथम बीमाशुल्क संकलनका आधारमा सन नेपाल लाईफमा जीबन बीमा कम्पनीहरुमै सबैभन्दा कमजोर देखिएको छ।

३५० जना कर्मचारी रहेको कम्पनीको प्रतिकर्मचारी औषत प्रथम बीमा शुल्क संकलन १६ लाख २९ हजार रहेको छ। जीबन बीमा इण्डष्ट्रिजमा औसत प्रतिकर्मचारी औषत प्रथम बीमा शुल्क संकलन ६१ लाख ८३ हजार रहेको छ।

बीमा शुल्कको आधारमा पनि प्रतिस्पर्धामा पच्छाउँदै नयाँ कम्पनी

कोरोना भाइरसको संक्रमणको असरका बीचपनिबीमाशुल्क संकलनमापनिपूरानासँगको प्रतिस्पर्धामा नयाँ जीबन बीमा कम्पनीहरु उत्रिएका छन्।

नयाँ जीबन बीमा कम्पनीको रुपमा स्थापना भएको युनियन लाइफ इन्स्योरेन्सले पुराना ५ कम्पनीहरु एशियनलाईफ, मेट लाईफ, प्राइम लाईफ, सूर्या लाईफ र गुराँस लाईफ इन्स्योरेन्सलाई पछिपार्दै ४ अर्ब ८० करोड बीमा प्रिमियम संकलन गरेको छ। यससँगै युनियन लाईफ शीर्ष बीमाशुल्क संकलन गर्ने पाँचौं कम्पनी बनेको छ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार दश वटा नयाँ जीबन बीमा कम्पनीको बीमा शूलकको आधारमा बजार हिस्सा १८.०४ प्रतिशत देखिएको छ। तथ्याङ्क अनुसार गतआर्थिक वर्ष २०७६।७७ मा दश नयाँ बीमा कम्पनीले कुूल १७ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो १९ जीबन बीमा कम्पनीले संकलन गरेको कुल बीमा प्रिमियम (९४ अर्ब ३८ करोड रकम) को १८.०४ प्रतिशत हुन आउँछ।

यसैगरि नयाँ बीमा कम्पनीले २२ लाख १७ हजार २६५ वटा बीमालेख जारी गरेका छन्। जीबन बीमा कम्पनीहरुले कूल ७९ लाख ५७ हजार ३५८ बीमालेख जारी गरेकोमा नयाँ बीमा कम्पनीको बीमालेखको हिस्सा २७.८६ प्रतिशत हुन आउँछ।

नयाँ जीवन बीमा कम्पनीलाई गत आर्थिक वर्षको ४ महिना कोरोना भाइरस संक्रमणका कारण ब्यवसाय विस्तार गर्न पाएनन् । त्यसको असर बीमा शुल्क संकलनमा पनि देखिएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।