शेयर कर्जा प्रतिग्राहक ५० लाख मात्र पाइने, रियलस्टेट कर्जा धितोको ५० प्रतिशतसम्म

0
Shares

राष्ट्र बैंकले शेयर धितो ऋणको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुर्याइ दिएको छ। १८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋण १२० दिनको अन्तिम मूल्यमा दिइने नीति राष्ट्र बैंकले लिएको छ। साथै शेयर कर्जा प्रति ग्राहक बढिमा ५० लाखसम्म मात्र दिन पाइने छ।

शेयर धितोमा प्रवाह हुने कर्जाको हकमा सुरक्षण बापत राखिने शेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १२० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

एक पटक प्रवाह गरिसकेको कर्जाको सुरक्षणमा रहेको शेयरको पुनरमूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न भने नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसैगरी राष्ट्र बैंकले ओभरड्राफ्टलाई यथावत राख्दै धितो कर्जा, सम्पत्ति कर्जा, ब्यक्तिगत आवधिक कर्जाको सीमा पनि ५० लाख तोकेको छ। यदि कसैले ५० लाखभन्दा बढि दिएको भए २०७९ असार मसान्तभित्र सीमाभित्र ल्याइसक्नु पर्नेछ।

केन्द्रीय बैंकले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा (ओभरड्राफ्ट), धितो कर्जा, सम्पत्ति कर्जा व्यक्तिगत आवधिक कर्जा र शेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका गरी ४ प्रकारका व्यक्तिगत कर्जाहरुमा प्रतिग्राहक ५० लाख रुपैयाँको सिलिङ तोकेको हो।

तर, बैंक तथा वित्तीय संस्थाले आफ्नै मुद्दती निक्षेप रसिद, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न, र शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न भने व्यवस्थाले नरोक्ने उल्लेख गरिएको छ।

त्यस्तै राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बीचको अनुपात बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्न निर्देशन दिएको छ ।

तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकको निर्देशनमा छ ।