कर्जा ठप्प हुँदा बैंकिङ प्रणालीमा पैसा थुप्रियो, रिभर्स रिपो मार्फत २० अर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

कोरोना भाइरसका कारण आर्थिक गतिविधि लयमा नफर्कँदा वित्तीय प्रणालीमा २ खर्ब भन्दा धेरै पैसा थुप्रिएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार सञ्चालनका लागि २० अर्ब रुपैयाँ खिच्ने लागेको हो ।

केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बिहीबार २० अर्ब रुपैयाँ खिच्न लागेको हो । गत साता मात्र राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिचेको थियो । सो रिभर्स रिपो समेत परिपक्क भएपछि वित्तीय प्रणालीको अधिक तरलता बढेर २ खर्ब भन्दा माथि पुगेको हो ।

 

वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेको र गत साता निष्काशन गरेको रिभर्स रिपो समेत परिपक्क भएकाले पुनः प्रणालीबाट पैसा खिच्न लागेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

“खुला बजार नियमित रुपमा सञ्चालन भएको छ भन्ने सन्देश दिन खोजेको हो,” उनले भने,“बजारमा पैसा फालाफाल भएर रिभर्स रिपो गर्न लागेको होइन, बजारमा प्रयाप्त पैसा भई आर्थिक गतिविधि बढोस् भन्ने नै राष्ट्र बैंकको चाहाना हुन्छ ।”

कोरोनाका कारण कर्जा विस्तार हुन नसकेकाले तरलता बढेको उनले बताए । पछिल्लो समयमा नेपाल भित्रने रेमिट्यान्सको आप्रवाह पनि राम्रै रहेको जानकारी उनले दिए । गत साता निष्काशन गरेको २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो समेत परिपक्क हुँदा हाल बजारमा २ खर्ब अधिक तरलता रहेको जानकारी उनले दिए । बिहीबार २० अर्ब रिभर्स रिपो जारी गरेपछि करिब १८३ अर्ब रुपैयाँ अधिक तरलता बजारमा हुने उनको भनाइ छ । अहिलेको अवस्थामा अन्तर बैंक ब्याजदर एक प्रतिशत भन्दा तल रहेको छ ।

गत साता निष्काशन गरेको रिभर्स रिपोमा २२ बैंक तथा वित्तीय संस्थाले १३५ आवेदन मार्फत करिब ६८ अर्बको माग गरेका थिए । यसका आवेदकले ०.०४६४ प्रतिशत ब्याजदरमा उक्त रिभर्स रिपोमा लगानी गरेका थिए । बजारमा अधिक तरलता हुँदा ब्याजदरमा अस्वभाविक उतार-चढाव आउने जोखिम हुन्छ । वित्तीय प्रणालीमा देखिएको उच्च तरलताले आगामी दिनमा बैंक वित्तीय संस्थाको ब्याजदर अझै घट्न सक्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानी योग्य पूँजी (तरलता) अत्याधिक भएपछि साउन १५ गते बिहीबार एक साता अवधिको लागि २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको हो । रिपोमा सहभागी हुन चाहने बैंकहरुले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

रिभर्स रिपो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ । ब्याजदर निर्धारण भने निक्षेप संकलन उपकरण मार्फत् बोलकबोल प्रक्रियाबाट हुनेछ । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्न लागेको हो । तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा राष्ट्र बैंकले उपकरणबाट तरलता समेत प्रवाह गर्दै आइरहेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।