साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक ४२.७८ अंक अर्थात २.९७ प्रतिशतले घटेर १३९६.२८ अंकमा बन्द भएको छ। काठमाण्डौं उपत्यकामा दिनप्रतिदिन बढ्दो कारोना संक्रमणका बीच सरकारले फेरि लकडाउनको गराउने हल्लाले लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा उच्च अंकको गिरावट आएको हो।
अर्कोतर्फ यसअघि शेयर किनेका लगानीकर्ताहरुले अब बजारमा थप करेक्शन आउनसक्ने आंकलन गर्दा बजारमा बिक्री चाप बढ्न पुगेको हो। छोटो समयमा आएको नाफा बुक गर्दा शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। यद्यपी सरकार लकडाउनको विषयमा कुन मोडालिटीमा अगाडि बढ्ने वा गर्ने या नगर्ने भन्नेमा नै हालसम्म स्पष्ट भैसकेको छैन।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिले शेयर बजार आम व्यक्तिहरुको बुझाइबाट चल्ने भएकाले फेरि लकडाउन हुनसक्ने समाचार र महङ्गो ब्याजमा ऋण लिएर शेयर बजारमा लगानी गरिरहेकाले अहिलेको घटेको एकल अंकको ब्याजदरमा सिफ्ट हुन लाग्दा पनि बजारमा चाप परेको बताए।
मौद्रिक नीतिबाट आएको सुविधा र बैंकिङ्ग प्रणालीमा प्रयाप्त तरलता भएपनि सो पैसा शेयर बजारमा आइनसकेकाले पनि बजारमा पुराना ऋणीहरुले पुरानो शेयर कर्जा चुक्ता गरि कम ब्याजदर भएको बैंकबाट घटेको ब्याजमा कर्जा उपभोग गर्ने अवस्था नआइसकेकाले पनि बजारमा गिरावटको अवस्था आएको उनको बुझाइ छ। यसअघि पनि बजारमा खासै खरीद चाप नदेखिएकोमा लकडाउनको हल्लाले बजारमा थप दबाब पुगेको उनले बताए।
शेयर ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले पनि काठमाण्डौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएको अवस्थामा सरकारले पुन: लकडाउनको अवस्था दोहोरिनसक्ने समाचार सञ्चार माध्यममा आएकाले आफ्नो लगानीको केही रकम बिक्री गरेर नगद राखौं भन्ने मनोविज्ञानका कारण पनि बजारमा करेक्शन आएको हुनसक्ने बताए। यो बाहेक अन्य खास कारण नदेखिएको उनको भनाइ छ।
आज १८९ कम्पनीका ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर १ अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका १२ वटै उप-समूहका परिसूचक ऋणात्मक बनेका छन्। होटल, बैंकिङ्ग, विकास बैंक, निर्जीबन र जीबन बीमा, लघुवित्तको सूचक ३ प्रतिशत धेरैले घटेका छन्। ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि २.७२ प्रतिशतले घटेर २९२.७७ अंकमा झरेको छ।
घट्दो बजारमा पनि ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स, नेपाल फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। आँखुखोला, हिमाल दोलखा, रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशतले वृद्धि हुँदा सानिमा इक्वीटी फण्ड, दिब्यश्वरी, युनियन हाइड्रोपावरका लगानीकर्ताले पनि कमाएका छन्।
आजको बजारमा जोशी हाइड्रोपावरको ९.७२ प्रतिशत, ओरियन्टल होटलको ७.८८ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ७.७४, खानीखोला हाइड्रोपावरको शेयरमूल्य ७.२७ र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ६.४९ प्रतिशतले घटेको छ। आरएसडिसि लघुवित्त, सामुदायिक लघुवित्त, समृद्धि फाइनान्स, फस्ट माइक्रोफाइनान्स, र प्राइम लाईफका लगानीकर्ताले पनि आजको बजारबाट ५ प्रतिशत धेरैले गुमाएका छन्।
नेपाल रि-इन्स्योरेन्स कम्पनीको आज सबैभन्दा धेरै २२ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कम्पनीको ३ लाख ८२ हजार २५९ कित्ता शेयर कारोबार भएको हो।
यसैगरि नेपाल लाइफको १४ करोड ५६ लाख ८२ हजार, एनएमबि बैंक ८ करोड ४१ लाख ७२ हजार, हिमालयन डिष्टलरीको ७ करोड ३५ लाख, एनआईसी एशिया बैंक ६ करोड ९९ लाख, र शिखर इन्स्योरेन्सको ६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। नबिल बैंक, एनसीसी बैंक, एनआईसी एशिया लघुवित्त र नेपाल बैंकको पनि उच्च कारोबार भएको छ, दशौं स्थानमा रहेको नेपाल बैंकको ३ करोड २३ लाख बराबरको कारोबार भएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया