चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै


भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् ।

गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैँले भत्काउन थालेको बताउँछन् । पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काइरहेका छन् ।

पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट छ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ । नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण हुने छन् ।

प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।