देश छाड्नेको लर्को

दक्ष जनशक्ति पलायन, खाली हुँदै देश


काठमाडौँ । जनशक्ति पलायनको सबैभन्दा दुःखद् स्थितिमा मुलुक गुज्रिरहेको छ । अहिले दैनिक २ हजारको हाराहारीमा जनशक्ति पलायन हुँदै छन् । गाउँ रित्तो छ । तर, मुलुकका शासकहरू शिर ठाडो पारेर समृद्धि र देश विकासको कुरा गरिरहेका छन् ।

मुलुक रेमिट्यान्सले मात्र धानिएको छ भन्दा फरक पर्दैन । १० वर्षको अवधिमा ३० प्रतिशत करकारखाना, उद्योगधन्दा बन्द भइसकेका छन् । नेपालमा उत्पादन न्यून छ, आयात बढ्दो छ । तर, पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

पदमा पुगेका नेताहरू वैज्ञानिक समाजवाद, साम्यवादलगायत अनेक वाद थोपरेर जनतालाई झुक्याइरहेका छन् । ‘चाहे झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन’ भन्ने राष्ट्रिय गान गाउने जनता नेपालको राजनीतिक र आर्थिक दुविधाले विदेशीको चाकडी गर्न पुगेका छन् ।

श्रमका लागि मात्रै होइन, उच्च शिक्षाका लागि पनि लाखौँ नेपाली बाहिरी मुलुक गएका छन् । १० वर्षको अवधिमा ५ लाख विद्यार्थी विदेश पलायन भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विद्यार्थीले लिएको अनुमतिपत्र (नो अब्जेक्सन लेटर) का आधारमा १० वर्षको अवधिमा ५ लाख ४३ हजार ८४२ जना विदेश भासिएका छन् ।

कोरोनापछिको आर्थिक मन्दीका कारण नेपालमा भविष्य सुनिश्चित गर्न नसकेका विद्यार्थी विदेश पलायन हुन थालेका हुन् ।

आर्थिक वर्ष २०७०/७१ मा २८ हजार १२६ जनाले एनओसी लिएका थिए । सो संख्या २०७९/८० मा आइपुग्दा १ लाख १० हजार २१७ पुगेको छ ।

विगत १० वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या कोरोना कहरपछि झनै बढेको छ । कोरोनापछिको आर्थिक मन्दीका कारण नेपालमा भविष्य सुनिश्चित गर्न नसकेका विद्यार्थी विदेश पलायन हुन थालेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा २८ हजारले एनओसी लिएकामा २०७८/७९ मा यो संख्या ३.५४ गुणाले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा १ लाख २ हजार ५०४ जनाले एनओेसी लिएका थिए भने गत आव २०८०/८१ मा ६६ वटा देशका लागि १ लाख १२ हजार २५६ वटा एनओसी जारी भएको छ ।

कुल जनसंख्याको ७ प्रतिशत विदेशमा

राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा नै बसोबास गर्ने गर्दछन् । यीमध्ये अधिकांश वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश गएका हुन् । विदेशमा रहेको जनसंख्यामध्ये पुरुषको संख्या १७ लाख ९९ हजार ६७५ र महिलाको संख्या ३ लाख ९० हजार ९१७ जना छ ।

अक्सर विदेशमा बसोबास गर्नेहरूको उमेर विश्लेषण गर्दा सबैभन्दा बढी २० देखि २४ वर्ष उमेर समूहका पुरुषहरू विदेश गएको देखिन्छ । त्यस्तै महिलामा पनि सोही उमेर समूहको बढी जनसंख्या विदेश गएको देखिन्छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ ।

भदौमा मात्र बाहिरिए ५७ हजार

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्रै ५७ हजार ४९३ जना नेपाली नागरिक बिदेसिएका छन् । यो नयाँ तथा पुरानो श्रम स्वीकृत लिएर जाने श्रमिकको संख्या हो ।

भदौ महिनामा ३९ हजार ५५७ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने बाँकी १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

सोमध्ये नवीकरण र नयाँ श्रम स्वीकृतिमार्फत् २० हजार ५७८ जना महिलाले वैदेशिक रोजगारीका लागि अनुमति लिएको विभागको तथ्यांक छ ।

विभागका अनुसार बिदेसिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला छन् । गत साउनमा ६० हजार जना बिदेसिएका थिए ।

भदौमा २९ हजार ५२८ जना संस्थागत र ९ हजार २६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । त्यस्तै जिटुजीमार्फत् १ हजार ३ जना विदेश गएका छन् ।

कुन वर्ष कति बाहिरिए ?

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा कूल २ लाख ३६ हजार २११ जना वैदेशिक रोजगारीका लागि बिदेसिएका थिए ।

सोमध्ये नवीकरण र नयाँ श्रम स्वीकृतिमार्फत् २० हजार ५७८ जना महिलाले वैदेशिक रोजगारीका लागि अनुमति लिएको विभागको तथ्यांक छ ।

सो वर्ष २ लाख १५ हजार ६३३ जना पुरुषले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिने महिलाको तुलनामा पुरुषको संख्या १० गुणाभन्दा बढी छ ।

यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा २८ हजार ४३३ जना, २०७७/७८ मा ११ हजार ४५६ जना, २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जना, २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जना महिलाले श्रम स्वीकृति लिएको तथ्यांक छ ।

नेपालले कस्तो जनशक्ति टिकाउने हो र कस्तो जनशक्ति विदेश पठाउने हो भन्ने स्पष्ट नीति बनाउन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

श्रम स्वीकृति लिने महिलाको संख्या आर्थिक वर्ष २०७८/७९ मा ४९ हजार १२८ जना रहेकामा आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा ४६.८३ प्रतिशतले बढेर ७२ हजार १३४ जना पुगेको हो ।

आर्थिक वर्ष २०७५/७६ र त्यसको ५ वर्षपछि २०७९/८० को संख्या हिसाब गर्ने भने ५१ हजार ५५६ जना धेरै महिला एकै आर्थिक वर्षमा बाहिरिएका हुन् ।

विभागको तथ्यांकअनुसार आव २०७७/७८ मा ३ लाख ६८ हजार ४३३ जना, २०७८/७९ मा १ लाख ६६ हजार ६९८ जना, २०७८/७९ मा ६ लाख ३० हजार ९० जना र २०८०/८१ मा ७ लाख ७१ हजार ३२७ जनाले विदेशमा काम गर्न जानका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् ।

नेपालले कस्तो जनशक्ति टिकाउने हो र कस्तो जनशक्ति विदेश पठाउने हो भन्ने स्पष्ट नीति बनाउन आवश्यक रहेको विज्ञहरू बताउँछन् । नेपालमा राज्यले अवसर सिर्जना गरिदिने हो भने विदेश पलायन कम हुने उनीहरूको भनाइ छ ।