सातामा शेयर बजारबाट ८ अर्बले गुम्यो लगानीकर्ताको सम्पत्ति

0
Shares

नेप्से परिसूचक ७.२१ अंकले घटेपछि शेयर बजारबाट लगानीकर्ताको ८ अर्ब ६० करोड रुपैयाँ शेयर बजारबाट गुम्न पुगेको छ ।  उच्च पूँजीकरण हुने कम्पनीहरुको शेयरमूल्य घट्दा यस साता बजार पूँजीकरण ०.५५ प्रतिशतले घटेर १५ खर्ब ६४ अर्ब ४३ करोड रुपैयाँमा झरेको हो। गत साता १५ खर्ब ७३ अर्ब रुपैयाँ बजार पूँजीकरण थियो।

नेपाल दुरसञ्चार कम्पनीको बजार पूँजीकरण घटेर एक खर्ब ५ अर्बमा झरेको छ ।  नेपाल बैंकको ७२ अर्ब ३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ६६ अर्ब २० करोड, एभरेष्ट बैंक ५३ अर्ब २१ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक ५३ अर्ब १९ करोड, नेपाल लाइफ इन्स्योरेन्स ४८ अर्ब ७५ करोड, हिमालयन बैंक४७ अर्ब ११ करोड, एनआईसी एशिया बैंक ४० अर्ब ९० करोड, नेपाल एसबिआई बैंक ३९ अर्ब ३ करोड र कृषि विकास बैंक ३७ अर्ब २३ करोड सहित शिर्ष दश पूँजीकरण हुने कम्पनीमा परेका छन्।

हिमालयन डिष्ट्रिलरीको यस साता सबैभन्दा धेरै शेयर कारोबार भएको छ। कम्पनीको संस्थापकहरुले शेयर कारोबार गर्दा यस कम्पनीको यस साता ३४ करोड ७७ लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भयो। नेपाल बैंक, शिबम् सिमेन्टस्, र प्रभु बैंकको दश करोड बढीको शेयर कारोबार भयो। सिद्धार्थ बैंक, चिलिमे हाइड्रोपावर, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एनआईसी एशिया, डिप्रोक्स लघुवित्त, र लक्ष्मी बैंक उच्च कारोबार गर्ने दश कम्पनीमा समेटिएका छन्।

गणपति माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै नाफा कमाएका छन्। लघुवित्तको शेयरमूल्य ३३.७४ प्रतिशतले बढेर ४३६ रुपैयाँमा पुगेको छ। आइतबार कम्पनीको शेयर ३२६ रुपैयाँमा कारोबार खुला भएको थियो। यसैगरि नेपाल एग्रो र जनउत्थान सामुदायिक लघुवित्तको पनि २४ प्रतिशत बढीले यस साता शेयरमूल्य बढेको छ। उच्च शेयरमूल्य बढ्ने दश कम्पनीमा क्रमश कैलाश विकास बैंकको प्रमोटर,स्वाभिमान लघुवित्त, मिथिला लघुवित्त, मल्टीपपर्स फाइनान्स, नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, र रिलायन्स फाइनान्स रहेका छन्।

शिखर इन्स्योरेन्सको शेयरधनीले सबैभन्दा धेरै गुमाएका छन्। आइतबार ८०६ रुपैयाँमा कारोबार खुला भएको शिखरको साताको अन्तिम दिन बिहीबार ७४० रुपैयाँमा झरेको हो। गत आवको मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने भएपछि इन्स्योरेन्सको शेयरमूल्य ८.१९ प्रतिशत घटेको हो।

यसैगरि स्पर्श लघुवित्त र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशत धेरैले घटेकोछ भने उच्च शेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश राधी विद्युत, दिब्यरेश्वरी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, सिभिल बैंक प्रमोटर, मेरो माइक्रोफाइनान्स, नेशनल लाईफ इन्स्योरेन्स, र उन्नति माइक्रोफाइनान्सको शेयरमूल्य पनि ४ प्रतिशत धेरैले घटेका छन्।

शेयर संख्याका आधारमा यस साता सबैभन्दा धेरै नेपाल बैंकको ४ लाख ८३ हजार बढी कित्ता शेयर कारोबार भएको छ । दोस्रो स्थानमा रहेको प्रभु बैंकको पनि ४ लाख ३४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।