फ्रान्सले घोषण गर्यो एक खर्ब १८ अर्ब डलरको प्याकेज, आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने

0
Shares

कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ।

यो रकम खासगरी रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ ।

फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले राहत प्याकेज घोषणा गर्नुअघि आरटिएल रेडियोलाई दिएको अन्तर्वार्तामा नयाँ आर्थिक प्याकेजले अर्को वर्ष एक लाख ६० हजार नयाँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे।

प्रस्तावित प्याकेजमा भवनहरुको मर्मतसम्भारदेखि रेलसेवाको ऊर्जा उत्सर्जनमा कटौतीसम्मका योजना समेटिएका छन्। फ्रान्समा बिहीबार मात्र सात हजार नयाँ कोरोनाभाइरसका संक्रमित भेटिएका थिए।

पछिल्ला दिनहरुमा यो युरोपमै सबैभन्दा बढी वृद्धिदर हो। फ्रान्समा हालैका दिनहरुमा कडा लकडाउन र नियमहरुलाई खुकुलो बनाइएको छ।

फ्रान्सका अस्पतालमा सघन उपचार कक्षमा बिरामीको संख्या केही बढेको देखिए पनि मार्च र अप्रिलको जस्तो अवस्था देखिएको छैन।

कोरोना संक्रमण फेरि बढ्न थालेपनि फ्रान्सका विद्यालयहरु खुल्न थालेका छन् भने अधिकारीहरुले मानिसलाई काममा फर्कन प्रेरित गरिरहेका छन्। फ्रान्समा कोरोनाभाइरसबाट ३० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।