जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, यस्तो छ कम्पनीको प्रक्षेपण

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको कूल ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । 

नेपाल धितोपत्र बोर्डले लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ । यसअनुसार यस कम्पनीको आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले पाउनेछन् ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ।

कति गर्ने त आवेदन ?

धितोपत्र बजारको प्राथमिक निष्काशनमा पछिल्लो समय दिनप्रतिदिन नयाँ लगानीकर्ता थपिने क्रम बढ्दो छ । हरेक नयाँ निष्काशनमा करिब १ लाख संख्यासम्म आवेदक थपिएका छन् । पछिल्ला निष्काशनमा परेको मागका आधार पनि त्यस्तै देखिन्छ । यस आधारमा जनरल इन्स्योरेन्सको आइपीओमा पर्ने आवेदन संख्याले पनि नयाँ रेकर्ड कायम गर्ने निश्चित प्राय: छ ।

यसअनुसार यो निष्काशनमा पनि आइपीओमा आवेदन गरेका आधा भन्दा कमले मात्र गोलाप्रथाबाट १० कित्ता पाउनेछन्। बाँकी आधा आवेदकको हात भने यसमा पनि खाली हुनेछ ।

पछिल्लो आईपीओ रिलायन्स लाइफमा परेको आवेदलाई आधार मान्ने हो भने करिब ६ लाख (५ लाख ८९ हजार ४६४ वटा) आवेदन परेको थियो । यसअनुसार जनरल इन्स्योरेन्सको आइपीओमा पनि कम्तिमा ६ लाख आवेदन पर्नेछ । ६ लाख वटा संख्यामा आवेदन पर्दा नै १०० जनामध्ये ४५ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् भने बाँकी ५५ जनाको हात खाली हुनेछ ।

यसअनुसार कम्पनीले आइतबारदेखि निष्काशन गर्ने प्राथमिक शेयर (आईपीओ) मा १० कित्ता अर्थात १ हजार रुपैयाँको आवेदन नै प्रयाप्त हुनेछ । आधा आवेदकले १ हजारको शेयर नै नपाउने अवस्थामा कतिपयले धेरै रकमको आवेदन गरेमा शेयर पर्ने विश्वास गर्ने गरेको पाइन्छ । तर धेरै रकमको आवेदन गर्दैमा शेयर पाउने सम्भावना नहुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकहरु बताउँछन् ।

असोज १४ गते बुधबारसम्म आवेदन गर्न सकिने

कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिने शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटलले जनाएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।

आईपीओमा आवेदन गर्न  इच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन । मेरो शेयरको मोबाइल एपबाट भने हाल आवेदन गर्ने व्यवस्था गरिएको छैन ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन बमोजिम न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्नेहुन्छ ।

यस्तो छ कम्पनीको प्रक्षेपण

जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ६ लाख खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीले २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.२३ रुपैयाँ र जगेडा कोषमा ४ करोड ६६ लाख छ । जसको प्रतिशेयर नेटवर्थ ११४.६८ रुपैयाँ कायम भएको छ।कम्पनीको बीमा कोषमा ५ करोड १० लाख र महाविपत्ती जगेडा कोषमा ५२ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ मा १७ करोड ३७ लाख, आर्थिक वर्ष २०७८/७९ मा १९ करोड ८१ लाख र आर्थिक वर्ष २०७९/८० मा ३० करोड २७ लाख र आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यसअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ चालु आवमा ११५ रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा १२८, आर्थिक वर्ष २०७९/८० मा १४८ र आर्थिक वर्ष २०८०/८१ मा १७४ रुपैयाँ कायम हुने अनुमान छ ।

चालु आवमा आइपीओ जारी गरेर १ अर्ब पूँजी कायम गर्ने कम्पनीले वार्षिक प्रतिशेयर आम्दानी चालु आवबाट क्रमश: १७.३८ रुपैयाँ, १९.८१, ३०.२७ र आर्थिक वर्ष २०८०/८१ मा पुग्दा ४१.२० रुपैयाँ कायम गर्ने लक्ष्य लिएको छ ।

चालु आवमा ५० करोड ६५ लाख खुद प्रिमियम संकलन गर्ने लक्ष्य राखेको कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा पुग्दा त्यसलाई १०५ प्रतिशतले बढाएर १ अर्ब ४ करोड बढी संकलन गर्ने प्रक्षेपण गरेको छ । यस्तै चालु आवमा १ करोड ९२ लाख जगेडा कोष कायम गर्ने र आर्थिक वर्ष २०८०/८१ मा त्यसलाई बढाएर ११ करोड पुर्याउने सोच रहेको छ ।

कम्पनीको अध्यक्षमा कुनल क्याल रहेका छन् भने मिल बराली प्रमुद कार्यकारी अधिकृत रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।