कोभिड प्रभावितको साँवा र ब्याज तिर्ने म्याद बढीमा ६ महिना थप गर्न सकिने

0
Shares

लघुवित्त वित्तीय संस्थाहरुले कोभिड प्रभावित ऋणीहरुको किस्ताको साँवा र ब्याज तिर्ने म्याद बढीमा ६ महिना थप गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार कोभडि प्रभावितको सावाँ तथा ब्याज तिर्ने म्याद २०७७ असोज मसान्तभित्र एक पटकको लागि बढीमा ६ महिनासम्म भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था गरेको छ ।

कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको साँवा र ब्याज रकमलाई ऋणीले सञ्चालन गरेको लघु उद्यम, पेशा, व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकता आदिको मुल्याङ्कन गरी समय थप्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्तभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्नु पर्नेछ ।

यस्तो किस्ता रकम नियमितरुपमा भुक्तानी गर्ने ऋणीबाट कुनै प्रकारको पेनाल ब्याज/ शुल्क/हर्जाना/ब्याजको ब्याज लिन पाईने छैन । संस्थाले किस्ताबन्दीमा चुक्ता हुने गरी कर्जा प्रवाह गर्दा ग्रेस अवधि दिने/नदिने सम्बन्धमा कर्जा नीतिमा स्पष्ट व्यवस्था गरी लागु गर्नु पर्ने निर्देशन पनि राष्ट्र बैंकले दिएको छ ।

भुक्तानी तालिका सम्बन्धमा कर्जा प्रवाह गर्दा सो को साँवा ब्याज असुल हुने भुक्तानी तालिका ऋणीलाई उपलब्ध गराउनु पर्नेछ । कर्जा प्रवाह गरेको किस्ता असुली सम्बन्धी कार्यतालिका निर्माण गर्दा किसानले उत्पादन गर्ने बाली भित्र्याउने समय वा आय आर्जन हुने समय र कर्जाको किस्ता भुक्तानी गर्ने समय बीच सकेसम्म तालमेल मिल्ने किसिमले त्यस्तो कार्य तालिका निर्माण गर्नु पर्ने व्यवस्था गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।