नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको कुल संख्या २५ हजार ७ पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै धेरै संक्रमित पनि थपिएका छन् । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २०९ वटा पीसीआर परीक्षण गर्दा ३ हजार ४३९ संक्रमित थपिएका हुन् । यो संख्या एकैदिन संक्रमण पुष्टि भएकोमध्ये हालसम्मकै धेरै हो । नेपालमा हालसम्म कुल ११ लाख १३ हजार ४८५ परीक्षण भएको छ ।
बुधबार काठमाण्डौं जिल्लामा मात्रै १ हजार २९६ जना संक्रमित थपिएका छन् । ललितपुरमा २९३ जना र भक्तपुरमा ९५ जना गरी उपत्यकाका कूल १ हजार ६८४ जना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण पुष्टि हुनेको संख्या ९४ हजार २५३ जना पुगेको छ । गत २४ घण्टाको परीक्षणबाट संक्रमण दर बढेर २४.२० प्रतिशत पुगेको छ ।
उपत्यका बाहेक मोरङमा ३२२, सुनसरीमा १९३, चितवनमा १३१, रुपन्देहीमा १३०, बाँकेमा १०६, मकवानपुुरमा ९९, सुर्खेतमा ७८, काभ्रेमा ५१ र दार्चुलामा ४८ जना रहेका छन् ।
एक हजार १२६ जना डिस्चार्ज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार १२६ जना कोरोना भाइरस संक्रमण जितेर घर फर्किएका छन् । यो सहित कुल निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । आजसम्म निको हुने दर ७२.८५ प्रतिशत रहेको छ ।
देशभर ४ हजार १६४ जना क्वारेन्टिनमा छन् भने १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा र १४ हजार ४११ जना होम आइसोलेसनमा रहेका छन् ।
थप १५ जनाले ज्यान गुमाए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा काठमाडौंका ६ जना र ललितपुरका एक सहित थप १५ जनाले ज्यान गुमाएको जानकारी दिइएको छ ।
यसैगरी स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, सिरहाका १, रौतहटका १, चितवन १, रुपन्देही १, नवलपरासी १, दाङका १ जनाको मृत्यु भएको छ । मृतकमध्ये १० पुरुष र ५ जना महिला छन् ।
कोभिड १९ संक्रमणका कारण देशभर हालसम्म कूल ५७८ जनाले ज्यान गुमाइसकेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया