सामुदायिक लघुवित्तको खराब कर्जा १६% माथि, खुद नाफा ८३% ले घट्यो

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्थाको खराब कर्जा १६ प्रतिशत पुग्दा लघुवित्तको खुद नाफामा ८३.०३ प्रतिशतले घटेको छ ।

कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खराब कर्जा अनुपात बढेर १६.०८ प्रतिशतमा पुगेको छ । 

गत आवको यसै अवधिमा १.८४ प्रतिशत रहेकोमा १४.२४ प्रतिशतले खराब कर्जा अनुपात बढेको हो ।

खराब कर्जा बढेसँगै नोक्सानी व्यवस्था कोषमा रकम छुट्याउँदा लघुवित्तको खुद नाफामा भारी गिरावट आएको छ ।

गत आवको पहिलो त्रैमासमा ६६ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तको नाफा ११ लाख २० हजार रुपैयाँमा संकुचित बनेको हो ।

चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३.४० रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट ३२ प्रतिशतले पूँजी बढाएको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँले घटेको हो । यस अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर नेटवर्थ १४३.३६ पैसा र मूल्य आम्दानी अनुपात २२८.५३ गुणा धेरै रहेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तले ४५ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन तथा ७० करोड ६१ लाख रुपैयाँ सापटीबाट १ अर्ब १७ करोड ७४ लाख ४१ हजार रुपैयाँ बर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले २ करोड ७८ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ६७ लाख ४५ हजार रुपैयाँ बढी हो ।

लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा व्यवस्थाका लागि रकम छुट्टाएपछि लघुवित्तको सञ्चालन नाफा ४८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको पहिलो त्रैमासमा भने लघुवित्तले १ करोड ३ लाख ७६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ कात्तिक २०७७, बिहीबार  १२ : ४१ बजे