११ महिनामा थपियो सवा २ खर्ब सार्वजनिक ऋण


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्म नेपालको सार्वजनिक ऋणको आकार झन्डै सवा २ खर्ब रुपैयाँले बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब २० अर्ब ५८ करोड रुपैयाँले बढेर २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको हो ।

कार्यालयको तथ्यांकअनुसार विदेशीले दातृ संस्थाले नेपाललाई ऋण दिन इच्छुक नभएको देखिन्छ । चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो ।

तर, जेठ मसान्तसम्मा ४ खर्ब १४ अर्ब रुपैयाँ मात्र ऋण प्राप्त भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यो अवधिमा आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेकामा लक्ष्यको ९५.४५ प्रतिशत अर्थात् ३ खर्ब १४ अर्ब ९९ करोड रुपैयाँ ऋण प्राप्त गरेको छ ।

यस्तै, बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ लक्ष्य राखेकामा लक्ष्यको ४५.७२ प्रतिशत अर्थात् ९९ अर्ब २० करोड रुपैयाँ मात्र प्राप्त गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले लक्ष्य अनुसारको ऋण प्राप्त गर्न अब १ खर्ब ३२ अर्ब ८० करोड रुपैयाँ प्राप्त गर्न बाँकी छ ।

  • आन्तरिक र बाह्य ऋणको अवस्था

जेठ मसान्तको तथ्यांकअनुसार आन्तरिक ऋणको आकार १२ खर्ब ७२ अर्ब ५३ करोड ३० लाख रुपैयाँ पुगेको छ । जुन कुल ऋणको ४७.९४ प्रतशित हुन आउँछ ।

यस्तै, बाह्य ऋणको आकार १३ खर्ब ८२ अर्ब १२ करोड ७८ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । जुन कुल सार्वजनिक ऋणको ५२.०६ प्रतिशत हुन आउँछ ।

सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४३.४७ प्रतिशत पुगेको छ ।

यो ११ महिनाको अवधिमा सरकारले ३ खर्ब १४ अर्ब ९९ करोड आन्तरिक र ९९ अर्ब २० करोड रुपैयाँ बाह्य गरी ४ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ ऋण लिएको छ

  • नेपाली मुद्रा अवमूल्यन हुँदा थपियो ऋणको भार

नेपाली मुद्रामा आएको अवमूल्यनले ऋणको भार ७३ अर्ब २ करोड रुपैयाँ बढेको छ । नेपाल सरकारले विदेशी मुद्रामा ऋण लिने गर्छ र ऋण तिर्दा सोही मुद्रामा तिर्नुपर्ने हुन्छ ।

यो ११ महिनाको अवधिमा डलरको मूल्य ४ रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको सुरुमा १ अमेरिकी डलरको मूल्य १३४ रुपैयाँ रहेकामा जेठ मसान्तमा १३८ रुपैयाँ कायम भएको छ । यसरी डलर बलियो हुनु र नेपाली मुद्राको अवमूल्यनले ऋणको भार बढाएको छ ।

  • ऋण भुक्तानी अवस्था

यो अवधिमा सरकारले आन्तरिकतर्फ २ खर्ब २३ अर्ब ३५ करोड रुपैयाँ साँवा र ५४ अर्ब ३७ करोड रुपैयाँ ब्याज गरी जम्मा २ खर्ब २३ अर्ब ३५ करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ ।

यस्तै, बाह्यतर्फ ४३ अर्ब २९ अर्ब साँवा र ८ अर्ब ५७ करोड रुपैयाँ ब्याज गरी ४३ अर्ब २९ करोड रुपैयाँ भुक्तानी गरेको छ । यसरी ११ महिनाको अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको कार्यालयले जनाएको छ ।

  • प्रत्येक नेपालीको थाप्लोमा ९१ हजार रुपैयाँ

सार्वजनिक ऋणलाई जनसंख्याले भाग गर्दा प्रत्येक नेपालीको भागमा ९० हजार ९३६ रुपैयाँ हुन आउँछ । यसरी तथ्यांकको विश्लेषण गर्दा नेपालीले जन्मिँदै ९१ हजार रुपैयाँ ऋणको भारी बोक्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।