काठमाडौँ । आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको हरिमूल कृषि तथा पशुपक्षी कृषक समूहमार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आबद्ध समूहमार्फत १४० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती भएको जानकारी दिए ।
“समूहमा आबद्ध नभएका कृषकलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेलालगायत तरकारीखेती भएको छ,” उनले भने, “पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधि सहयोग गरेका छौँ ।”
गाउँपालिकाको ११ लाख ९९ हजार ३२२ रुपैयाँ र कृषकको ८ लाख ५४ हजार ८९८ रुपैयाँ गरी कुल २० लाख ५४ हजार २२१ रुपैयाँ को लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ । कृषकले सिँचाइ सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन् ।
आठवटा प्लाष्टिक घर निर्माण, चारवटा मिनिटेलर हलो, ५ तराजु, १ हजार लिटर क्षमताको १३ वटा सिँचाइ ड्रम, २ हजार ४०० मिटर पाइप, २५ वटा ५ लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, २०० वटा क्रेट, ९ वटा थोपा सिँचाइ सेट, १४० थान स्पिङ्कल, ९८ किलोग्राम लुज पाइप र १०० वटा सिड ट्रे वितरण गरिएको छ ।
१ लाख ३५ हजार रुपैयाँको बीउ, १ लाख रुपैयाँको सुष्म तत्व र जैविक मल, १ लाखको विषादी तथा ३० हजार रुपैयाँ बराबरको २०० किलोग्राम पिटमस वितरण गर्नाका साथै ३ दिने तरकारीखेतीसम्बन्धी तालिम सञ्चालन भएको थियो । उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारीखेती राम्रो हुने भएकाले पकेट क्षेत्र स्थापना गरिएको हरिमूल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले बताए । टिकोटका कृषकले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायतका ठाउँमा बिक्री हुने गर्छ ।
२ वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा ६ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् ।










प्रतिक्रिया