रसुवा बाढीमा ३ प्रहरीसहित १२ नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता (सूचीसहित)


काठमाडौँ । रसुवामा मंगलबार बिहान आएको बाढीमा परी ३ जना प्रहरीसहित १२ जना नेपाली र अरू चिनियाँ नागरिक बेपत्ता भएका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गापा–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गापा–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नपा–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।

बाढीमा परी ६ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरू सबै पुरुष हुन् । चिनियाँ नागरिकहरूमा YU HAI HANG, YOU XIAO QIU, YANG CHUAN, LI HUAQING, JOU YONG र YU YUE  बेपत्ता छन् ।

बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् ।

बाढीले उत्तरगया गापा–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलीब्रिज’ बगाएको छ । सो स्थान नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीले लेदो माटो जम्मा भएको छ । त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ ।

बिहान साढे ४ बजे भन्सार यार्डमा काम गर्ने ६ जना स्थानीय कामदार, १ जना चिनियाँ र उद्धारमा संलग्न हुने क्रममा फसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका १/१ जनालाई डोरीको सहायताबाट उद्धार गरिएको थियो ।

टिमुरेमा रहेको विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’लाई पनि बाढीले क्षति पुर्‍याएको छ । सो चार्जिङ स्टेसनमा रहेका करिब ७/८ वटा विद्युतीय गाडी बगाएको छ । भन्सार कार्यालय रसुवाको यार्डमा रहेका करिब ८/९ वटा सामानसहितका कन्टेनर र डिब्बा बगाएको छ ।

जिल्लास्थित सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त सातसहित २० जना उद्धार सामग्री लिएर सदरमुकाम धुन्चेबाट त्यसतर्फ गएको तर सडक ठाउँठाउँमा चर्केकाले स्याफ्रुबेँसी हुँदै टिमुरेतर्फ जान नसकेको प्रहरीले जनाएको छ ।

पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबँेसी–रसुवागढी सडकखण्डको अधिकांश भाग सडक कटान र पहिराका कारण प्रभावित भएसँगै अहिले सो सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।