काठमाडौँ । सांसदहरूले ‘सुप्राग्लेशियल लेक’ (हिमताल) फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिएका छन् ।आज सङ्घीय संसद्, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँहरूले विपद्सँग जुध्न, प्रकोपपूर्व, प्रकोप परिसकेपछि आपतकालीन चरण र पुनःस्थापनाको चरणमा सरकारले प्राथमिकताका साथ नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
समितिका सभापति मायाप्रसाद शर्माले बाढीपीडितलाई समयमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माण गर्नुपर्ने तथा बस्ती र पूर्वाधार विपद्मैत्री निर्माण गर्नुपर्नेमा जोड दिए। सांसद पदम परियारले बाढीबाट क्षति पुगेकालाई तत्काल राहत उपलब्ध गराउनुपर्ने र भत्किएका संरचना छिटोभन्दा छिटो पुनःनिर्माण गर्नुपर्ने बताए।
“हामीले विपद्का घटनापछि मात्र होइन, विपद् कसरी न्यूनीकरण र व्यवस्थापन गर्ने भन्नेमा उत्तिकै प्राथमिकता दिनुपर्छ,” उनले भने, “हाम्रो पूर्वतयारीको अवस्था निकै कमजोर छ । तसर्थ पूर्वतयारी र प्रतिकार्यमा लगानी बढाउनुपर्छ ।”
सांसद रुक्मिणी कोइरालाले उद्धार र राहत व्यवस्थापन समयमै गर्नुपर्ने तथा नाका खुलाउनुपर्नेमा जोड दिइन्। सांसद रेणु चन्दले विपद् व्यवस्थापन र पुनःस्थापनामा ध्यान दिन सरकारलाई सुझाव दिइन्। सांसद मदनकुमारी शाहले जतिबेला मनसुनजन्य विपद्को समस्या आउँछ, त्यतिबेलाभन्दा अग्रिम पूर्वतयारी आवश्यक रहेको बताइन्। “विपद्पछि हामी उद्धार, राहत र पुनःस्थापनामा त फोकस गर्छौँ, तर पूर्वतयारी कसरी गर्ने र विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ भन्नेमा ध्यान दिन सक्दैनौँ,” उनले भनीन, “पूर्वतयारी र पूर्वसूचनालाई प्राथमिकता दिँदै नीतिमा पुनर्विचार आवश्यक छ ।”










प्रतिक्रिया