पचास अर्बको निक्षेप उपकरणमा बैंक वित्तीय संस्थाहरुबाट ८७ अर्बको आवेदन

0
Shares

नेपाल राष्ट्र बैैंकले निष्काशन गरेको निक्षेप संकलन उपकरणका लागि ८७ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ । केन्द्रीय बैंकले बजारको तरलता खिच्नका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दा अधिक माग परेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि २८ दिनका लागि ५० अर्बको निक्षेप संकलन उपकरणको लागि माग गरेकोमा ३२ वटा बैंक तथा वित्तीय संस्थाहरुले ८७ अर्ब रुपैयाँ बराबरको माग आवेदन दिएका हुन् । अधिक आवेदनका कारण निक्षेप संकलन उपकरणको ब्याजदर पनि १ प्रतिशतभन्दा तल झरेको छ ।

राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट गरेको गोप्य शिलबन्दीका आधारमा बुधबारको निक्षेपको भारित औषत व्याजदर ०.६२ प्रतिशत कायम भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुबाट ५० अर्ब रुपैयाँ तरलता प्रशोचनका लागि आह्वान गर्दा ८७ अर्ब ५ करोडको आवेदन पर्नुले वित्त बजारमा अझै अधिक तरलताको अवस्था छ भन्ने जनाउँछ ।

वित्तीय प्रणालीमा मंगलबारसम्म १ खर्ब ६५ अर्ब रुपैयाँको तरलता रहेकोमा बुधबार ५० अर्ब प्रशोचनपछि अब बैंक तथा वित्तिय संस्थाहरुमा १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ ।

केन्द्रीय बैंकले सिआरआरमा दिएको छुटका कारण बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिएको हो । वित्तीय प्रणालीमा अधिक तरतलता रहँदा गलत ठाउँमा ऋण प्रवाह हुनसक्ने आंकलन गर्दै केन्द्रीय बैंकले तरलता प्रशोचनको कदम अघि बढाएको हो ।

मंसिर ४ गते २८ दिन अवधिको वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता उठाएको केन्द्रीय बैंकले दुई साता नबित्दै पुनः ५० अर्ब रुपैयाँ तरलता उठाएको हो ।

कोरोना भाइरस संक्रमणका कारण कर्जा लगानीका अन्य क्षेत्रहरुमा कर्जा लगानीमा संकुचन र रेमिट्यान्स आप्रवाहमा बढोत्तरी आउँदा अझै केही समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहने प्रवक्ता डा. भट्टले जानकारी दिए । यद्यपी रेमिट्यान्स आप्रवाह अवस्थाले पनि तरलतामा असर गर्ने हुँदा तलरता कता जान्छ भन्ने नसकिएपनि आगामी महिनाबाट सरकारले राजश्व उठाउन थालेपछि तरलता घट्नसक्ने आंकलन गरिएको उनको भनाई छ । अर्कोतर्फ आर्थिक क्रियाकलाप खुम्चिदा बैंकहरुसँग अधिक तरलता थुप्रिएको हो ।

बैंकहरुसँग अधिक तरलता (लगानी योग्य पूँजीको पर्याप्तता) व्यवस्थापन गर्न राष्ट्र बैंकले चालू आर्थिक वर्षमा पटक(पटक गरी तरलता प्रशोचन गरिसकेको छ । प्रवक्ता डा.भट्टले अनुसार चालु आवपछि केन्द्रीय बैंकले ७० अर्बको रिभर्स रिपो र असोज गते ३० अर्बको निक्षेप उपकरण गरी १ खर्बको तरलता प्रशोचन गरिसकेको जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७७, बुधबार  १९ : ३७ बजे