बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम


काठमाडौँ । बुधबारसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ः०० बजेदेखि नदीको जलसतह घटेको जानकारी गराए।

“बबई नदीमा ५.५ मिटर चेतावनीको तह र ६.८ मिटर खतराको तह मापन गरिन्छ । तर, आज मध्याह्नसम्म ७.१ मिटर पुगेको थियो । अहिले भने जलसतह घटेर ६.६२ पुगेको छ,” उनले भने, “आज काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”

बाढीविद् पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।