अत्तरिया । सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत २० घर निर्माण सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा कैलाली र कञ्चनपुरमा उक्त घर निर्माण सम्पन्न गरेको हो ।
प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० दुईकोठे घर निर्माण गरिएको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए। उनका अनुसार कैलालीको जानकी गाउँपालिकाको वडा नं. २, ५, ८ र ९ मा १० घर, कञ्चनपुरको भीमदत्त नगरपालिका–३, ७, १० र ११ मा छ र दोधारा–चाँदनी नगरपालिका–३, ६ तथा ७ मा ४ घर निर्माण गरिएको हो ।
उनले भने, “सबै घर गत आवमा नै निर्माण सम्पन्न गरि लाभग्राहीलाई हस्तारण गरिसकेका छौँ, लाभग्राहीहरु घरमा बसिसक्नुभएको छ ।” सुदूरपश्चिम प्रदेश सरकारले २० घर निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।
कैलालीमा प्रतिघर निर्माण लागत ४ लाख ८३ हजार ९९१ रुपैयाँ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत ४ लाख ९६ हजार २३३ रुपैयाँ रहेको उनले जानकारी दिए। कार्यालयले प्रतिघर निर्माणका लागि ३ लाख ५० हजार उपलब्ध गराएको र बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गरेको उनले जानकारी दिए।










प्रतिक्रिया