भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ५ सय ९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म १ सय १० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ ।
उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार आव २०७७र७८ मा ५ सय ९१, आव २०७८/७९ मा ४ सय ४, आव २०७९/८० मा २ सय ६४, आव २०८०/८१ मा १ सय ३३ र आव २०८१/८२ मा १ सय १० वटा उद्योग दर्ता भएका छन् ।
पछिल्ला वर्षहरूमा उद्योग खारेजीको सङ्ख्या पनि बढेको छ । गत आवमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी १ सय १२ वटा खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेश ढकालले जानकारी दिए। “भोजपुरमा घरेलु उद्योग र वाणिज्य फर्मको दर्ता बर्सेनि घट्दो क्रममा छ, गत आवमा १ सय १० वटामात्र उद्योग दर्ता भएका छन् भने १ सय १२ वटा उद्योग तथा फर्म खारेजी भएका छन्”, निमित्त प्रमुख ढकालले भने ।
भोजपुरमा उद्योगतर्फ ३ हजार ६६३ र वाणिज्यतर्फ १ हजार ८३ गरी जम्मा ४ हजार ७४६ उद्योग तथा फर्म दर्ता रहेको उनको भनाइ छ । तीमध्ये करिब ५० प्रतिशत हारहारीमा निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले उद्योगको प्रवर्द्धन तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि दर्ताको सङ्ख्या भने बर्सेनि घट्दो क्रममा रहेको जानकारी दिइएको छ । गत आवमा कार्यालयले उद्यमीको प्रोत्साहनका लागि मागका आधारमा ९१ वटा उपयुक्त प्रविधि हस्तान्तरण गरेको जनाएको छ ।
कार्यालयले लघु,घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ । स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्वरोजगार बन्न तथा रोजगारीका अवसर सृजना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ ।










प्रतिक्रिया