बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै


ढोरपाटन । ६ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको छ ।

रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए। जातका स्याउको बिरुवा लिएर लगाएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उनको बगान ४ रोपनीमा फैलिएको छ । उनी ६ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ”

स्याउखेतीका निम्ति उनले १ लाख ५० हजार रुपैयाँ लगानी गरेको बताए। विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब ४ क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन्। ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६.९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उनले बर्सेनि ३३१.२ मेट्रिक टन स्याउ उत्पादन बताए।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।