दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति


दार्चुला । यहाँको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इञ्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । पालिकाले कुल खर्चको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरुप विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ ।

विसं २०७९ मा नरेन्द्रबहादुर सिंह बडाल अध्यक्षमा निर्वाचित भएपछि सुरु गरिएको यो कार्यक्रम २०८० सालदेखि नियमित रूपमा सञ्चालनमा छ । हालसम्म दुहुँका ८ जनाले एमबिबीएस, बीइ सिभिल र बीइ कम्प्युटर इञ्जिनियरिङमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् । छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययन सकिएपछि कम्तीमा एक वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाबाट प्राप्त छात्रवृत्तिले छोरालाई पढाउन निकै सहज भएको अभिभावक भगवती बडालले बताइन्। छोरा भुपेन्द्रको इञ्जिनियरिङ पुरा गर्न कुल ८ लाख ५० हजार रुपैयाँ लाग्नेमा गाउँपालिकाले ४ लाख २५ हजार रुपैयाँ छात्रवृत्तिस्वरुप दिने भएपछि पढाइमा सहज भएको उनको भनाइ छ ।

शिक्षा क्षेत्रमा थप लगानी गर्दै गाउँपालिकाले कक्षा १० सम्म पूर्ण रूपमा निःशुल्क गरेको छ । दुहँ गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय अनाथालय सञ्चालन गरेर गाँस, बाँस, कपाससहित पढाइको सुविधा दिएको छ ।

‘टुहुरा बालबालिका, सहारा गाउँपालिका’ कार्यक्रममार्फत १२ छात्र र तीन छात्रालाई आवासीय अनाथालय विद्यालयमा पढाइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  १२ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।