काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमकले पुनर्बिमा, रेट्रोशेसन र विदेशबाट आयात गर्ने परामर्श सेवा वापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्नका लागि ‘बिमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ ।
प्राधिकरणले बुधबार जारी गरेको बिमकको विदेशी मुद्रा सटही सफारिश सम्बन्धी निर्देशन, २०८२’ मा बिमकले विदेशी बिमक वा पुनर्बिमक वा नेपाल रहेका बिमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बिमकलाई सेवा प्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बिमा दलालको संलग्नतामा गरिएको पुनर्बिमासँग सम्बन्धित पुनर्बिमा शुल्क तथा बिमा दाबी रकम, लाभाङ्श फिर्ता र परामर्श सेवा लिए वापतको रकम भुक्तानी प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्ने गरिएको छ ।
‘बिमकले विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेका निर्देशन समेत पालना गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘पुनर्बिमा शुल्कको विदेशी मुद्रा सटही सिफारिस माग गर्दा ट्रिटि पुनर्बिमा वा रेट्रोशेसन र ऐच्छिक (फ्याकल्टेटिभ) पुनर्बिमा वा ऐच्छिक (फ्याकल्टेटिभ) रेट्रोशेसन पुनर्बिमाका लागि तोकिए बमोजिमका कागजातहरु प्राधिकरणमा पेश गर्नुपर्ने छ ।’
निर्देशनमा विदेशी बिमक वा विदेशी ब्रोकरलाई बिमाको दाबी वापतको भुक्तानी गर्दा ट्रिटी वा (फ्याकल्टेटिभ) हिसाव–किताव मिलान गरी तोकिए बमोजिमका कागजात संलग्न गरी प्राधिकरणमा पेश गर्नुपर्ने, बिमकले बिमाङ्कीको पारिश्रमिक, विशेषज्ञ सेवा, क्रेडिट रेटिङ्ग सेवा तथा परामर्श सेवा शुल्क, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयर सम्बन्धी भुक्तानी र तेस्रो पक्ष सहजकर्ताका लागि निर्देशनमा तोकिएका कागजातहरु संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पुनर्बिमा वा रेट्रोशेसन वापत विदेशी मुद्रा सटही सिरफारिस गर्दा प्राधिकरणले जारी गरेको ‘बिमकको पुनर्बिमा निर्देशिका’ बमोजिम सूचीकरण भएका विदेशी पुनर्बिमक तथा पुनर्बिमा दलाल र सोही निर्देशिका बमोजिमको रेटिङ्ग प्राप्त पुनर्बिमकका लागि मात्र सिफारिस गरिने पनि निर्देशनमा उल्लेख छ ।
बिमकले विदेशी मुद्रा सटही सिफारिस मागका लागि पेश गरेका कागजातहरु तथा स्वीकृतिपत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नें, बिमकले भुक्तानी गरेको विदेशी मुद्राको विवरण तोकिए बमोजिमको ढाँचा वा प्रणालीमा प्रत्येक चौमास समाप्त भएको मितिले १५ दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्ने पनि निर्देशनमा भनिएको छ ।
यस्तै कम्पनीहरूले सूचीकृत कम्पनीको सेयरमा लगानी गर्ने दायरा बढेको छ । बिमा प्राधिकरणले ‘बिमकको लगानीसम्बन्धी निर्देशन २०८२’ मार्फत सेयरमा लगानी गर्ने दायरा बढाएको हो ।
निर्देशनबाट सबै प्रकारका बिमा कम्पनीले अबदेखि सूचीकृत कम्पनीको साधारण वा संस्थापक सेयरमा कुल लगानीको १५ प्रतिशतमसम्म लगानी गर्नसक्ने भएका व्यवस्था गरिएको छ ।
यसअघि यस्तो सीमा १० प्रतिशत थियो । बिमा कम्पनीले यस्तो लगानी गर्दा जुन कम्पनीको सेयर खरिद गर्ने उक्त कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतको सीमामै रहनुपर्ने छ ।
यस्तै, बिमा कम्पनीहरूले इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिद गर्नका लागि रोकतोक नभएपनि यसमा विभिन्न सीमा लगाइएको छ । निर्देशनले कुल लगानीको ५ प्रतिशतभन्दा धेरै त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न पाइने छैन । त्यस्तै त्यस्तो कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने अर्को अनिवार्य सर्त रहेको छ ।










प्रतिक्रिया