भोजपुर । वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् । विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् ।
टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको एक उदाहरण हुन् । लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि सोचेजस्तो आम्दानी नभएपछि बस्नेत गाउँ फर्किएर व्यवसायमा जोडिएका छन् । अहिले गाउँमा नै बाख्रापालन तथा जडीबुटीखेतीबाट राम्रै आम्दानी भइरहेको उनले बताए। परिवारसँग बसेर गाउँमा गरिरहेको उद्यमबाट घरखर्च चलाउन कुनै समस्या नरहेको बस्नेतको भनाइ छ ।
“विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन”, बस्नेतले भने, “अहिले आफ्नै गाउँमा बसेर बाख्रापालनसँगै जडीबुटीखेती गरिरहेको छु । गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ । मेहनत गरे यही राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभूति भयो ।”
विदेश जान चाहनेहरूका लागि गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उनको भनाइ छ । व्यवसायमा निरन्तरता दिन सक्ने हो भने त्यसबाट क्रमिक रूपमा लाभ लिन सकिने उहाँले अनुभव सुनाए। “हामी छोटो समयमा धेरै लाभ लिन सोच लिन्छौँ”, उनले भने, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य राख्न सक्नुपर्छ । निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ ।”
उद्यममा जोडिन चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उहाँको अनुभव छ । कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने उनले बताए। राज्यका तहहरूले कृषकलाई उद्यममा जोडिनुपूर्व आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित भइरहेका छन् । तर उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेल्नु परेको गुनासो गर्ने गरेका छन् ।
राज्य तहबाट प्रदान हुने सेवाहरू सरल र पहुँचयोग्य भए गाउँमा नै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरुको भनाइ छ ।










प्रतिक्रिया