बागलुङ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका एक फर्निचर व्यवसायीले रु एक लाख एक हजार १११ प्रदान गर्नुभएको छ ।
बागलुङको सृष्टि फर्निचार उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५औँ वार्षिकोत्सवका अवसरमा सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम कोषमा सहयोग गर्नुभएको हो ।
क्षतिग्रस्त सिंहदरबारसहित अन्य संरचना पुनर्निर्माणमा राज्यलाई सघाउन सामाजिक उत्तरदायित्वअन्तर्गत गौतमले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । “देश दुःखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैलो सा–सानो सहयोग गरेर पुनर्निर्माण गर्नसके आर्थिक वृद्धि छिटो हुन्छ, हामीजस्ता व्यवसायलाई सघाउ पुग्दछ”, गौतमले भने, “४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको उद्योगले निरन्तरता पाउन राज्यकै सहयोग चाहिन्छ ।”
गौतमले १५औँ वार्षिकोत्सवका अवसरमा ५ करोड लगानीमा फर्निचर उद्योगको नयाँ शोरुम स्थापना गरेका छन् । गौतमले फर्निचार र हार्डवेयरलगायत व्यवसाय गर्दै आएका छन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पुनर्निर्माण कोषको खातामा उक्त रकम जम्मा गर्ने बताए । सरकारले क्षतिग्रस्त संरचना निर्माणका लागि ‘भौतिक संरचना पुननिर्माण कोष’ स्थापना गरेको छ । रासस










प्रतिक्रिया