अधिक लगानीयोग्य रकमले निम्त्यायो सकस, ऋणपत्रमार्फत २ खर्ब तानेपछि अब के गर्छ राष्ट्र बैंक ?


काठमाडौं । बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य रकम (तरलता) भएपछि नेपाल राष्ट्र बैंकले आक्रामक रूपमा पैसा तानेको छ । राष्ट्र बैंकले पछिल्लो १५ दिनमा मात्रै ९ पटक ऋणपत्र जारी गर्दै २ खर्ब रुपैयाँ बजारबाट झिकेको हो ।

राष्ट्र बैंकले पुस १४ गते ‘एनआरबी बण्ड २०८३ क’ जारी गरेको थियो । त्यसपछि पुस १६, २०, २२, २३, २४, २८, २९ र ३० गते एक वर्ष अवधिका लागि राष्ट्र बैंकले फरक फरक दरका ऋणपत्र जारी गरेको हो ।

दुई साताको अवधिमा ६ पटक २५/२५ अर्ब, दुई पटक २० अर्ब र एक पटक १० अर्ब रुपैयाँका ऋणपत्र जारी भएका छन् । यसरी कुल २ खर्ब रुपैयाँ बराबरको रकम बजारबाट तानिएको छ । यसअघि २०७२/७३ मा राष्ट्र बैंकले यही ऋणपत्र जारी गरेर ४९ अर्ब ८ करोड रुपैयाँ बजारबाट झिकेको थियो । राष्ट्र बैंकले करिब एक दशकपछि पुनः अधिक तरलता व्यवस्थापनका लागि ऋणपत्रलाई प्रभावकारी औजारका रूपमा प्रयोग गरेको हो ।

हाल बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जनाएको छ । तत्काल यो रकम घट्ने संकेत नदेखिएकाले एक वर्षे अवधिका ऋणपत्रमार्फत लामो समयका लागि तरलता थाम्ने रणनीति अपनाइएको हो ।
राष्ट्र बैंकले यसअघि पनि विभिन्न वर्षमा ऋणपत्र प्रयोग गर्दै आएको छ । आव २०४९/५० मा २४ अर्ब ८८ करोड, २०५०/५१ मा ६५ अर्ब ७२ करोड, २०५१/५२ मा ४५ अर्ब ७४ करोड, २०५२/५३ मा ९ अर्ब ३७ करोड र २०७२/७३ मा ४९ अर्ब ८ करोड रुपैयाँ बजारबाट झिकिएको थियो ।

अहिले ब्याजदर करिडोरको माथिल्लो सीमा (स्थायी तरलता सुविधा दर) ५.७५ प्रतिशत र तल्लो सीमा (स्थायी निक्षेप सुविधा दर) २.७५ प्रतिशत छ । अन्तरबैंक दर ५।७५ प्रतिशतभन्दा माथि पुगे राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ भने २.७५ प्रतिशतभन्दा तल झरे बजारबाट पैसा तान्छ । पछिल्लो तीन वर्षयता अन्तरबैंक दर निरन्तर तल्लो सीमाभन्दा तल रहँदै आएको छ, जसका कारण केन्द्रीय बैंकले नियमित रूपमा तरलता प्रशोचन गरिरहेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको कुल निक्षेप ७६ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ६८ खर्ब ९५ अर्ब रुपैयाँमा सीमित छ । कर्जा–निक्षेप अनुपात ७३.९७ प्रतिशत मात्र रहनु पनि लगानीको माग कमजोर भएको संकेत हो ।

करिब तीन वर्षदेखि वित्तीय प्रणालीमा थुप्रिएको तरलता लगानीमा जान नसक्दा समस्या देखिएको निजी क्षेत्रको गुनासो छ । बजार माग सुस्त हुनु र पछिल्लो समय भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले निजी क्षेत्रको मनोबल झनै खस्किनु कर्जाको माग नबढ्नुका मुख्य कारणका रूपमा लिइएको छ ।

राष्ट्र बैंकका अधिकारीहरू ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन निरन्तर तरलता प्रशोचन अपरिहार्य भएको बताउँछन् । निजी क्षेत्रको मनोबल बढाउने गरी केन्द्रीय बैंकले काम गरिरहेको र सरकारको पहलसँगै अर्थतन्त्र क्रमशः लयमा फर्किँदा अहिले थुप्रिएको तरलता सदुपयोग हुने जानकारहरू बताउँछन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने घोषणा गरेको थियो । अहिले केन्द्रीय बैंकले त्यसलाई कार्यान्वयन गरेको हो ।

जानकारहरू यसरी ऋणपत्रमार्फत राष्ट्र बैंकले मात्र रकम तानेर नहुने बताउँछन् । सरकार र संस्थानले पनि यस्ता ऋणपत्र जारी गरेर परियोजनामा लगानी गर्नुपर्नेमा उनीहरूको जोड छ ।

बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा बैंकको ब्याजदर पनि घट्दै गएको छ । वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ४.६८ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर माघमा ०.१४९५ प्रतिशत छ ।

पछिल्ला महिनाहरूमा बजारमा कर्जाको माग न्यूनप्रायस् छ । राष्ट्र बैंकका अनुसार मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत (१ खर्ब २ अर्ब २४ करोड रुपैयाँ) ले बढेको छ । तर निक्षेप ३.९ प्रतिशतले बढेको छ । यसले कर्जा विस्तारको तुलनामा निक्षेप निकै धेरै बढेको र तरलता पनि बढिरहेको देखाएको छ । यसले तरलता अझै उपयोग हुने अवस्था देखाएको छैन । जानकारहरू राष्ट्र बैंकले अझै ऋणपत्र मार्फत निक्षेप तान्नुपर्ने बताउँछन् ।

राष्ट्र बैंकले तत्कालका लागि फेरि ऋणपत्र जारी गर्ने सोचेको छैन । तर आवश्यक पर्दा फेरि ऋणपत्र जारी गर्न सकिने बताएको छ । यसबाहेक राष्ट्र बैंकले नियमित रूपमा साताको दुई दिन विभिन्न उपकरणमार्फत प्रणालीको पैसा तान्ने काम गरिरहेको छ । त्यसमै अबको ध्यान केन्द्रित हुने राष्ट्र बैंकका प्रतिनिधिहरू बताउँछन् ।

हाल ब्याजदर करिडोरको माथिल्लो सिलिङ (स्थायी तरलता सुविधा दर) ५.७५ प्रतिशत छ भने तल्लो सीमा (स्थायी निक्षेप सुविधा) २.७५ प्रतिशत छ । यसरी बैंकहरू बीचको सापटी (अन्तरबैंक दर) ५.७५ प्रतिशतभन्दा बढी हुँदा राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ भने अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा कम हुँदा बजारबाट पैसा झिक्छ । पछिल्लो तीन वर्षयता भने अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा तल रहिरहेको छ । जसकारण केन्द्रीय बैंकले बजारबाट पैसा तान्दै आएको छ ।

राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्नका लागि अन्य विभिन्न औजारहरूको पनि प्रयोग गरिरहेको छ । जसअन्तर्गत चालु आवको पुस ३० सम्म ४९ पटक यस्ता उपकरण प्रयोग गरेर १६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ तानिसकेको छ । जसमा एनआरबी बण्डबाट २ खर्ब रुपैयाँ र ४० पटक बचत संकलन गरेर १४ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ तानेको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।