काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
परिसंघले जारी गरेको विज्ञप्तिमा नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको पहिचान बोकेको मुलुक भएकाले यस विशिष्ट परम्परालाई जोगाइराख्न सबै नागरिकले संयमता अपनाउनुपर्ने उल्लेख गरिएको छ।
परिसंघका अनुसार कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान वार्ता र संवादमार्फत सम्भव हुने भएकाले आन्दोलन, हिंसा वा मुठभेडको बाटो रोज्नु उचित नहुने जनाएको छ। शान्ति, सुव्यवस्था तथा सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको छ।
विज्ञप्तिमा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारको आवश्यकता रहेको बेला यस्ता घटनाले समग्र वातावरणमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ। आन्दोलनका क्रममा जनधनको क्षति हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार तथा पसल बन्द गराउने र लुटपाटका घटनाप्रति परिसंघले दुःख र चिन्ता व्यक्त गरेको छ।
साथै, आम नागरिक र उद्योग–व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आवश्यक पहल गर्न परिसंघले आग्रह गरेको छ।
परिसंघले सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव प्रवर्द्धनका लागि समाजका विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै सद्भाव र्यालीलगायत शान्ति स्थापना गर्ने गतिविधिमा सक्रिय हुन आफ्ना प्रदेश तथा जिल्ला संघहरूका साथै निजी क्षेत्रका अन्य संघ–संस्थालाई पनि आह्वान गरेको छ ।










प्रतिक्रिया