काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा निक्षेप संकलनको तुलनामा आधामात्रै कर्जा निजी क्षेत्रमा विस्तार भएको छ । यस अवधिमा बैंकिङ प्रणालीमा ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँ निक्षेप थपिँदा कर्जा भने १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँमात्र थपिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुग्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
अर्थतन्त्रको सुस्तता गत आवको यस अवधिमा भन्दा अहिले बढेको तथ्यांकबाट बुझ्न सकिन्छ । उसो त, राजनीतिक अस्थिरता, निजी क्षेत्रको सुरक्षा अभाव, लगानीको वातावरण बिथोलिनु तथा स्पष्ट लगानीमैत्री नीतिको अभावका कारण चालु आवको सुरूदेखि नै अर्थतन्त्रमा सुस्तता छाएको हो । जसको प्रभाव समग्र अर्थतन्त्रमा देखिएको छ ।
गत आवको साउनदेखि पुससम्मको अवधिमा निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ (३.७ प्रतिशत) ले बढ्दा कर्जा प्रवाह २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ (५.२ प्रतिशत) ले बढेको थियो । चालु आवमा कर्जा बढ्ने अपेक्षा गरिएपनि सुरुवातदेखिकै राजनीतिक अनिश्चितता र द्वन्द्वका कारण कर्जाको माग नै हुन नसकेको निजी क्षेत्रको भनाइ छ ।
आगामी निर्वाचन स्वच्छ र शान्त तवरले हुने र नयाँ स्थीर सरकार बन्ने आशामा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । सो सरकारले निजी क्षेत्रको सुरक्षा तथा लगानीमैत्री वातावरण निर्माण गर्ने र लगानी उकास्ने उनीहरूको अपेक्षा छ । तथ्यांक अनुसार, वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ ।
२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो ।
चालु आवको साउनदेखि पुससम्मको अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३.७ प्रतिशत, विकास बैंकहरूको २.९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८२-८३ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले बढेको छ ।
यस्तै निर्माण क्षेत्रतर्फको कर्जा ७.२ प्रतिशत बढ्दा यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ ।
यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा भने १.१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । साउनदेखि पुससम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७।८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्जा ३.० प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा क्रमशः ३.३ प्रतिशतले घटेको छ ।
पछिल्लो समय ब्याजदर निरन्तर घट्दै गइरहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार, २०८२ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत, विकास बैंकहरूको ४.०६ प्रतिशत र वित्त कम्पनीहरूको ५.१७ प्रतिशत रहेको छ । २०८१ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत, विकास बैंकहरूको ५.५६ प्रतिशत र वित्त कम्पनीहरूको ६.६६ प्रतिशत रहेको थियो ।
त्यसैगरी, २०८२ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत, विकास बैंकहरूको ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.७३ प्रतिशत रहेको छ । २०८१ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत, विकास बैंकहरूको १०.१० प्रतिशत र वित्त कम्पनीहरूको ११.१० प्रतिशत रहेको थियो ।
२०८२ पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.२९ प्रतिशत, विकास बैंकहरूको ७.६० प्रतिशत र वित्त कम्पनीहरूको ७.९८ प्रतिशत रहेको छ । २०८१ पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरूको ८.६१ प्रतिशत र वित्त कम्पनीहरूको ९.५० प्रतिशत रहेको थियो ।












प्रतिक्रिया